आईजीपी हटाउने खेलमा पूर्णविराम !

आईजीपी हटाउने खेलमा पूर्णविराम !


प्रचण्डले अर्याललाई आफ्नो कार्यकालभरि निर्धक्कसँग काम गर्न भनेका छन् भने देउवाले पनि आईजीपी परिवर्तन हुन नसक्ने जानकारी दबाब दिन आउनेहरूलाई गराइसकेका छन् । देउवा र प्रचण्डको यस्तो ‘अडान’ सँगै आईजीपी परिवर्तनको खेलमा पूर्णविराम लागिसकेको छ । आईजीपी बदल्न नसकिने देखिएपछि राजेन्द्रसिंह भण्डारी, उनका साढुभाइ र व्यापारी दीपक भट्ट निराश बनेको बुझिएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई उनको कार्यकाल पूरा नहुँदै हटाउन गरिएको प्रयासमा पूर्णविराम लागेको छ । तीसवर्षे सेवा अवधिका कारण आगामी फागुन ३ गतेदेखि सेवानिवृत्त हुन लागेका आईजीपी अर्याललाई मङ्सिर ३० गते नै अवकाश दिएर आफू आईजीपी बन्ने खेलमा एआईजीपी राजेन्द्रसिंह भण्डारी लागेका थिए । आईजीपीको कार्यकाल जम्मा तीन वर्षको मात्र बनाउने, तीनवर्षे कार्यकाल पुगेका दिन मङ्सिर ३० गते अर्याललाई सेवाबाट अनिवार्य अवकाश दिने र सोही दिनदेखि तीन वर्षका लागि आफू प्रहरी महानिरीक्षक बन्ने रणनीतिक योजना भण्डारीले बनाएका थिए । भण्डारीको यस्तो इच्छा पूरा गराउन एक दैनिक पत्रिकाका प्रकाशक पनि निकै सक्रिय भएका थिए ।

नातामा भण्डारीका साढुभाइ पर्ने ती प्रकाशकले काङ्गे्रस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डमाथि आईजीपी परिवर्तन गर्न निकै ठूलो दबाब पैदा गरेका थिए । एमालेका वामदेव गौतम र माओवादीका शक्ति बस्नेत गृहमन्त्री हुँदा उनीहरूले पनि आईजीपी बदल्ने योजना नबनाएका होइनन्, तर सकेनन् । वर्तमान गृहमन्त्री विमलेन्द्र निधि पनि आईजीपी अर्यालसँग असन्तुष्ट रहेको बताइन्छ । आफूले चाहेबमोजिम नचलेकोले निधि आईजीपीसँग असन्तुष्ट बनेका हुन् । तर, निधिले आईजीपी परिवर्तन गर्ने तत्परता भने लिएका छैनन् । काङ्गे्रस सभापति देउवालाई सुदूरपश्चिमका केही नेता, एक दैनिकका प्रकाशक र ‘इजिमनी’ बनाउन सधैँ सक्रिय रहने युवा व्यापारी दीपक भट्टले तीव्र दबाब दिने गरेका कारण आईजीपी परिवर्तनको हल्ला चलेको बुझिएको छ ।

प्रहरीलाई आवश्यक पर्ने सामान आपूर्ति गराउँदै आएका ठेकेदार दीपक भट्टले अब प्रहरीले खरिद गर्नुपर्ने करिब एक अर्ब रुपैयाँको ठेका मिलिभगतबाट हात पार्नका लागि अर्याललाई हटाउन चलखेल गरेको देखिन्छ । भट्टले प्रतापसिंह थापा र सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाउन आफू जतिसुकै खर्च गर्न पनि तयार रहेको बताउँदै आएका थिए । तर, काङ्गे्रस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड अहिले आईजीपी परिवर्तन गर्ने पक्षमा देखिएनन् । प्रचण्डले अर्याललाई आफ्नो कार्यकालभरि निर्धक्कसँग काम गर्न भनेका छन् भने देउवाले पनि आईजीपी परिवर्तन हुन नसक्ने जानकारी दबाब दिन आउनेहरूलाई गराइसकेका छन् । देउवा र प्रचण्डको यस्तो ‘अडान’ सँगै आईजीपी परिवर्तनको खेलमा पूर्णविराम लागिसकेको छ । आईजीपी बदल्न नसकिने देखिएपछि राजेन्द्रसिंह भण्डारी, उनका साढुभाइ र व्यापारी दीपक भट्ट निराश बनेको बुझिएको छ ।

अब आगामी फागुन ३ गतेसम्म उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक रहने र त्यसपछि नवराज सिलवालले सो पदमा नियुक्ति पाउने निश्चित भएको छ ।

upendra-kanta-aryal