पूर्ण खड्का महामन्त्री बन्ने पक्का

पूर्ण खड्का महामन्त्री बन्ने पक्का


सभापति देउवा र नेता खड्काबीच प्रारम्भिक सहमति

purna-bahadur-khadka

नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवा र प्रभावकारी मानिएका नेता खुमबहादुर खड्काबीच प्रारम्भिक चरणको सहमति भएकोले अब काङ्गे्रस कार्यसमितिले छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ । प्राप्त समाचारअनुसार गत साता (कात्तिक २५ गते) सभापति देउवा र नेता खड्काबीच निर्णायक वार्ता भएको थियो । संवादका क्रममा पूर्वसहमतिबमोजिम आफूलाई उपसभापति बनाउनुपर्ने धारणा खड्काले प्रकट गर्नुभएपछि देउवाले बाह्य दबाबका कारण तत्काल उपसभापति बनाउन अप्ठ्यारो परेको भनी स्पष्ट जवाफ दिनुभएको थियो । सभापति देउवाले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विलमेन्द्र निधिलाई उपसभापति बनाउन व्यापक दबाब भएको र उक्त दबाब झेल्न सक्ने अवस्थामा आफू नरहेको स्पष्ट गर्दै निधिलाई नै उपसभापति बनाउनुपर्ने बाध्यता परेको सङ्केत दिनुभएको थियो । बरु तपाईंको सिफारिसमा एकजना महामन्त्री बनाउँछु र तपाईंसहित तपाईंले चाहेका अर्का एक व्यक्तिलाई पनि संसदीय बोर्डमा चयन गर्छु भनी देउवाले प्रस्ताव गर्नुभएको थियो । त्यसबाहेक खड्काको सिफारिसमा तत्काल तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिने र सङ्ख्या बढाएपछि अन्य थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि सभापति देउवाले राख्नुभएको थियो ।

देउवाले उपसभापतिको सङ्ख्या थप गर्न सकेको अवस्थामा भने आफू ‘तपाईं (खड्का) लाई नै उक्त पदमा चयन गर्न तयार भएको’ भनी प्रतिबद्धता जनाउनुभएको समाचार सूत्रको भनाइ छ । सभापति देउवाले आफूमाथि आइपरेको दबाब र आफ्ना अप्ठ्याराहरू खुलस्थ ढङ्गले राखिसकेपछि खड्काले उहाँसँग विवाद गर्न नचाहेको र देउवाको प्रस्तावमा सहमति जनाउनुभएको बुझिएको छ । काङ्गे्रससम्बद्ध सूत्रले जनाएअनुसार खुमबहादुर खड्काले लोकप्रिय नेता पूर्णबहादुर खड्काको नाम महामन्त्रीमा प्रस्ताव गर्नुभएको र पूर्णको नाममा देउवाले सहमति जनाइसक्नुभएको छ । त्यस्तै संसदीय बोर्डमा नेता खड्काका साथै उहाँको सिफारिसमा चर्चित नेतृ पुष्पा भुसालको चयन हुने सम्भावना छ । गत (तेह्रौँ) महाधिवेशनमा कोषाध्यक्षको उम्मेदवार बनाउन सभापति देउवा र नेता खड्काबीच सहमति भइसकेकोमा चित्रलेखा यादवलाई उम्मेदवार बनाउन पुष्पा भुसालको नाम हटाइएको थियो । त्यसरी कोषाध्यक्षको उम्मेदवार परिवर्तन गर्ने क्रममा पनि दुई नेताबीच पुष्पा भुसाललाई संसदीय बोर्डको सदस्य बनाउने सहमति भएको बताइन्छ । सो सहमतिलाई समेत स्मरण गरी खड्काले भुसालको नाम संसदीय समितिको सदस्यमा प्रस्ताव गर्नुभएको र त्यसलाई सभापति देउवाले स्वीकार गर्नुभएको बुझिएको छ ।
त्यसैगरी केन्द्रीय समितिको सदस्यमा तत्काल तीनजनाको नाम खड्काले सिफारिस गर्नुभएको र त्यसलाई सभापतिले स्वीकार गर्नुभएको जानकारी प्राप्त भएको छ । जानकारीअनुसार दाङका नेता अर्जुन श्रेष्ठ, गुल्मीका नेता चन्द्र केसी र रूपन्देहीका लोकप्रिय नेता दुर्योधनसिंह चौधरीको नाममा देउवाले सहमति जनाउनुभएको छ । तर, नेता खड्काले रोल्पाका नेता सुरेन्द्र हमाल र सर्लाहीका नेता डा. अमरेशकुमार सिंहलगायत अन्य केही नेताको नाम पनि केन्द्रीय सदस्य बनाउन प्रस्ताव गर्दा देउवा ‘अरू पछि–पछि’ भन्दै पन्छिनुभएको बताइन्छ ।

नेता खुमबहादुर खड्का आफूलाई उपसभापति बन्न नदिन देशबाहिरबाट दबाब आएको भन्ने कुरालाई लिएर स्तब्ध र चकित पर्नुभएको छ । पदाधिकारी चयनकै विषयलाई लिएर विवाद र झमेला गर्दा पार्टीलाई अप्ठ्यारो पर्ने उहाँको ठम्याइ छ । महाशक्ति राष्ट्र नै आफ्नाविरुद्ध उभिएको भन्ने कुरालाई पनि खड्काले आश्चर्यजनक मान्नुभएको छ । जे होस्, सभापति देउवा र नेता खड्काबीचको प्रारम्भिक सहमति कार्यान्वयन हुँदा देउवाका निम्ति पनि केही सहज वातावरण बन्न सक्ने सम्भावना बढेको छ ।

यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा रहनुभएका नेता पूर्णबहादुर खड््कालाई केही दिनभित्रै महामन्त्री नियुक्त गर्ने तयारीमा देउवा रहनुभएको बुझिन्छ । यसअघि नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री नियुक्त गर्न सभापति देउवामाथि दबाब परेको थियो र महामन्त्री बनाउनकै लागि भनेर कार्कीलाई मन्त्रीसमेत बनाइएको थिएन । अब कार्कीलाई कुन जिम्मेवारी प्राप्त हुने हो, प्रतीक्षाको विषय बनेको छ । त्यसैगरी गोपालमान श्रेष्ठलाई कस्तो जिम्मेवारी दिइएला र पौडेल–कोइराला पक्षलाई कसरी चित्त बुझाइएला, जिज्ञासाको विषय बनेको छ । तरुण दलको अधिवेशनपश्चात् काङ्गे्रस केन्द्रीय कार्यसमितिले करिबकरिब पूर्णता पाउने विश्वास गरिएको छ । सभापति देउवा नेता रामचन्द्र पौडेलसँग पनि समझदारी बनाएर अघि बढ्न इच्छुक रहनुभएकोले आगामी दिनमा काङ्गे्रस एकताबद्ध भई अघि बढ्न सक्ने बलियो सम्भावना देखिएको छ ।