परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट


ca

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग शुक्रबार नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूतका रूपमा हालै नेपाल आगमन गर्नुभएकी राजदूत होङको परराष्ट्रमन्त्री डा. महतसँग यो पहिलो शिष्टाचार भेट हो ।

भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीहरुको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि सो भेटमा कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा. महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभयो । ‘चिनियाँ राष्ट्रपति महामहिम सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं र हामी सो भ्रमणको आवश्यक तयारीमा छौँ’, मन्त्री डा. महतको भनाई थियो । भेटका क्रममा मन्त्री महतले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा पनि राख्नुभएको थियो ।