नेपाल–भारत पुस्तकालयमा सरदार पटेलको चर्चा

नेपाल–भारत पुस्तकालयमा सरदार पटेलको चर्चा


8-pr-news

सरदार बल्लभ भाइ पटेलको १४१औँ जन्मजयन्तीका अवसरमा नेपाल–भारत पुस्तकालयमा एक विशेष कार्यक्रम आयोजना गरियो । गत बुधबार आयोजित कार्यक्रममा सरदार पटेलको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन तथा टक प्रोग्राम गरिएको थियो । विख्यात राजनीतिक विश्लेषक एवम् राजनीतिशास्त्रका प्रोफेसर डा. कृष्ण हाछेथु सो कार्यक्रमका विशेष वक्ता थिए ।

डकुमेन्ट्रीमा स्वतन्त्र र एकीकृत भारतको जग बसाल्न सरदार बल्लभ भाइ पटेलद्वारा दिइएको योगदानबारे दर्शाइएको छ भने यसमा सरदार पटेलको जीवनी पनि झल्काइएको छ । सामाजिक अभियन्ता सरदार पटेलले स्वतन्त्रता सङ्ग्राममा शीर्ष नेतृत्वको भूमिका निर्वाह गरेका थिए । प्रोफेसर हाछेथुले भारतको राज्यप्रणाली र शासन व्यवस्था स्थापनामा सरदार पटेलको उल्लेखनीय योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको समापन गर्दै नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतमा शासनलाई मजबुत तुल्याउन सरदार पटेलले दिनुभएको योगदानको चर्चा गर्दै आजको सशक्त भारतीय कर्मचारीतन्त्र सरदार पटेलकै देन रहेको बताउनुभयो । यसका अलावा स्वतन्त्रतालगत्तै भारतको एकीकरणमा सरदार पटेलले निर्वाह गरेको भूमिकाको पनि राजदूत रायले चर्चा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा भारतीय दूतावासका प्रथम सचिव प्रणव गणेशले उपस्थितजनलाई धन्यवाद दिनुभएको थियो ।

यसैबीच परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग शुक्रबार नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूतका रूपमा हालै नेपाल आउनुभएकी राजदूत होङले परराष्ट्रमन्त्री डा. महतसँगको पहिलो शिष्टाचार भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुरा गर्दै नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा समेत सौहार्दपूर्ण रूपमा छलफल गर्नुभएको बुझिएको छ । परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि सो भेटमा कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा. महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल आतुर रहेको जनाउँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा पनि राख्नुभएको थियो ।