‘अफिन’का पदाधिकारीलाई भवन निर्माणको चस्का

‘अफिन’का पदाधिकारीलाई भवन निर्माणको चस्का


8-afin

निजी अस्पतालहरूको छाता सङ्गठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन (अफिन)को नयाँ कार्यसमिति चयन भएको छ । हालै राजधानीमा सम्पन्न अफिनको १९औँ साधारणसभाले नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अल्का अस्पतालका अध्यक्ष कुमार थापा पुनः निर्वाचित भएका छन् भने केन्द्रीय उपाध्यक्षमा आशा अस्पताल चितवनका नारायणसिंह कुँवर छानिएका छन् । चौधरी र थापाको यो दोस्रो कार्यकाल हो ।

मुलुक सङ्घीय संरचनामा जाने तयारी भए पनि राजनीतिक र प्रशासनिक रूपमा पुनर्संरचना बाँकी रहेको भन्दै अफिनले तत्कालका लागि पुरानै संरचनाअनुसार कार्यसमिति चयन गरेको बताइएको छ । साधारणसभाले क्षेत्रीय उपाध्यक्षहरूमा मध्यमाञ्चलबाट नारायणी सामुदायिक अस्पतालका पुष्पराज शर्मा, पूर्वाञ्चलबाट लाइफ गार्ड अस्पतालका डा. कैलाशकुमार श्रेष्ठ, पश्चिमाञ्चलबाट पदम नर्सिङ होमका नरेन्द्र बास्तोला, मध्यपश्चिमाञ्चलबाट राप्ती लाइफकेयर अस्पतालका हरिप्रसाद रिजाल र सुदूरपश्चिमाञ्चलबाट पद्मा अस्पतालका गजेन्द्रवीर चन्दलाई निर्वाचित गरेको हो । यस्तै महासचिवमा सुमेरु अस्पताल ललितपुरका हेमराज दाहाल, सचिवमा विजयपुर अस्पतालका पंकज खतिवडा र कोषाध्यक्षमा नेपाल क्यान्सर हस्पिटलकी स्वरूपा श्रेष्ठ निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरूमा गोपीकृष्ण न्यौपाने, लोकबहादुर टन्डन, राजकुमार थापा, कैलाश खड्का यमबहादुर दर्लामी र भरतराज रेग्मी निर्वाचित भएका छन् । यस्तै, क्षेत्रीय सदस्यमा पूर्वाञ्चलबाट राजेशप्रसाद विष्ट, मध्यमाञ्चलमा ओमप्रकाश दवाडी, पश्चिमाञ्चलबाट गोविन्द खनाल, मध्यपश्चिमाञ्चलबाट चन्द्रबहादुर महतो र सुदूरपश्चिमबाट विष्णुप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

नया“ कार्यसमितिमा निर्वाचित भएलगत्तै अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूले अफिनको भवन निर्माणका लागि एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । नवनिर्वाचित अध्यक्ष चौधरीले २१ लाख र केन्द्रीय सदस्य एलबी टन्डनले ग्रिनसिटी अस्पतालका तर्फबाट पनि २१ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्ष कुमार थापाले अल्का अस्पतालका तर्फबाट अफिनको भवन बनाउन ११ लाख दिने घोषणा गरे भने सदस्य कैलाश खड्काले वेलकेयर अस्पतालका तर्फबाट ५ लाख, गोपी न्यौपानेले व्यक्तिगत रूपमा २ लाख, उपाध्यक्ष नारायणसिंह कुँवरले आशा अस्पतालबाट ५ लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट ३ लाख, कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलका तर्फबाट ३ लाख, डा. श्रेष्ठले लाइफ गार्ड अस्पतालका तर्फबाट २ लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट ५ लाख दिने घोषणा गरेका छन् ।