
काङ्ग्रेसका युवा नेता गगन थापासँग नेपाली जनताले धेरै अपेक्षा गरेका थिए । उनी स्वास्थ्यमन्त्री भएर आएपश्चात् अपेक्षा र विश्वास झन् बढेको थियो । तर, त्यो सबै बालुवामा पानी भएको अनुभूति गरिँदै छ । स्वास्थ्य मन्त्रालयमा तरुण दल, नेविसङ्घ र पत्रकारहरूको टिम बनाएर मन्त्रालय सञ्चालन गर्ने योजना उनले बनाए । पार्टीको शुभेच्छुक रहेको नेपाल निजामती कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी सङ्घ र नेपाल प्रजातन्त्रवादी चिकित्सक सङ्घलाई विश्वासमा लिने प्रयत्न गरेनन् । मन्त्रालयमा रहेको एमालेको संयन्त्र र स्वास्थ्य सेवा विभागमा रहेका एमालेको संयन्त्रलाई बरु किन हो गगनले विश्वास गरे ।
भदौ महिनामा भएको मन्त्रालयको सरुवामा प्रताप पौडेल, सैलेश सिटौला, देवराज लामिछानेलगायतका समूहले राम्रो रकम असुल गरे । उक्त विषय मिडियामा आए पनि मन्त्री गगन थापाले थाहा नपाएजस्तो गर्नुको कारण बुझ्नै सकिएन । कात्तिकमा स्वास्थ्य सेवा विभाग र आयुर्वेद विभागले गर्ने सरुवामा विभागमा पेस गर्नुपर्ने निवेदन पनि मन्त्रालयमा पेस गर्न लगाएर कृष्ण रिजाललाई सरुवा प्रमुख बनाएर सोझै रकम असुल गर्न सुरु गरेको आरोप किन लाग्यो भन्नेतिर पनि चासो नै नराख्दा आशङ्का जन्मिएको छ ।
स्वास्थ्य सेवा विभागको डीजी डा. पुष्पा चौधरी रामजनम मन्त्री भएको बेला निमित्त डीजी नियुक्त भएकी हुन् । मन्त्री गगनले तिनलाई नै निरन्तरता दिए । खासगरी दक्षिणतिरको आशीष लिएकी उनले कृष्ण सिटौला र गगन थापालाई ठूलो रकम बुझाएको स्रोत बताउँछ ।
स्वास्थ्य सेवा विभागमा सरुवामा संलग्न दुवैैजना उपसचिव एमाले समर्थित हुन् । मन्त्री गगनले विश्वास गरेका उपसचिव वीरेन्द्र भारती कमल थापा स्थानीय विकासमन्त्री हुँदा उनको सचिवालयमा बसेका पात्र हुन् । तारा लुइँटेल कर्मचारी सङ्गठनका कडा हस्ती मानिन्छन् । उपसचिवद्वयले ठूलो रकम लिएर करिब १२ सयजना कर्मचारीको सरुवा गरे । रामजनम चौधरी, खगराज अधिकारीको पालामा पाँच सयभन्दा बढीको सरुवा भएको थिएन । नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष रामजी घिमिरेले पूर्वबाट नवराज श्रेष्ठ, मध्य क्षेत्रबाट अंगद शाही, हरिहर तिवारी र सुदूरपश्चिमबाट टेकराज ओझाबाट मोटो रकम असुल गरेका छन् । त्यस्तै, पूर्वबाट सैलेश सिटौलाको नाममा मुरारी आचार्यले पनि ठूलो लाभ उठाएका छन् । एकै दरबन्दीमा चारजनाको सरुवा गरिएको छ । बाल स्वास्थ्य महाशाखामा एकजना खोसुको दरबन्दी छ, तर तुलसी सुवेदी, शान्तिराम खतिवडा, जगन्नाथ दङ्गाल र भरत भण्डारीलाई राखिएको छ ।
सुर्खेत क्षेत्रीय निर्देशनालयमा टीकाराम जैशी र पदम केसीलाई बिनादरबन्दी सरुवा गरिएको छ । पैसाको चलखेलमा सम्बन्धित कार्यालयबाट गर्ने सरुवा पनि विभागबाट गरिएको छ । कात्तिकमा वेबसाइटमा थोरै सङ्ख्या देखाएर अहिले पनि ब्याक डेटमा सरुवा गरिँदै छ । लामिछाने, घिमिरे र सिटौलाहरूले मोटो रकम असुल गरेको चर्चा मन्त्रालयभर चलेको छ । यसरी स्वास्थ्यमन्त्रीले भाषणमा सुशासनको नारा दिए पनि व्यवहारमा लागू गर्न किन सकेनन्, सङ्गीन प्रश्न खडा भएको छ ।
– किसान नेपाल, काठमाडौं

प्रतिक्रिया