सबै मिल्दा तेह्र सांसद कम

सबै मिल्दा तेह्र सांसद कम


संविधान संशोधन गर्न संविधानसभामा कायम रहेका कुल सदस्यहरूको दुईतिहाइ मत आवश्यक पर्दछ । राप्रपा एकीकरण हुनुअघिसम्म राप्रपा नेपालका पच्चीस (२५), एमालेको एक सय बयासी (१८२), जनमोर्चाका चार (४), नारायणमान बिजुक्छे रोहितका चार (४) र सीपी मैनालीका पाँच (५) सहित कुल दुई सय (२२०) सांसद संविधान संशोधनका विरुद्ध उभिने विश्वास एमालेले गरेको थियो । संशोधन प्रस्ताव पारित हुन कम्तीमा ३९७ मत आवश्यक पर्ने हुन्छ । राप्रपा एकीकरणपछि सत्ता पक्ष स्पष्ट दुईतिहाइ बहुमतको नजिक पुग्न सक्ने देखिएको छ । काङ्गे्रस, माओवादी र राप्रपाभित्र विग्रह या विद्रोह भएन भने प्रचण्डद्वारा प्रस्तुत संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुन सक्ने सम्भावना छ ।

तर, यस विषयलाई लिएर सत्तारुढ पार्टीहरूभित्रै अनेकता र तनाव पैदा हुन सक्ने सङ्केतहरू देखिएका छन् । त्यसैले संशोधन प्रयास अवरुद्ध हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । सङ्ख्याका आधारमा मात्र हेर्ने हो भने संशोधनको पक्षमा काङ्गे्रसको दुई सय सात (२०७), माओवादीको बयासी (८२) राप्रपाको सैंतीस (३७), विजय गच्छदार नेतृत्वको फोरम र मधेसी मोर्चा गरी अन्ठाउन्न (५८) समेत कुल तीन सय चौरासी सांसद देखिएका छन् । दुईतिहाइ बहुमत पु¥याउन अन्य साना दलहरूको समेत साथ लिएर थप तेह्र (१३) जना पु¥याउनुपर्ने हुन्छ ।