प्रचण्डको साथ छोड्दै रायमाझी !

प्रचण्डको साथ छोड्दै रायमाझी !


top-bahadur-rayamajhi

पूर्वउपप्रधानमन्त्री एवम् माओवादीका नेता टोपबहादुर रायमाझी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग अन्तिम युद्ध लड्ने तयारीमा रहनुभएको बुझिएको छ । माओवादी पार्टीमा कुनै समय बाबुराम भट्टराईका अत्यन्त निकटस्थ मानिनुहुने रायमाझी भट्टराई पार्टीबाट बाहिरिएपछि उहाँको चर्को आलोचक भूमिकामा देखापर्नुभएको थियो । अहिले मधेसी मोर्चाको माग सम्बोधन गर्ने क्रममा प्रचण्डले बनाउनुभएको धारणाबाट उहाँ ‘आगो’ हुनुभएको छ । सकेसम्म प्रचण्डसँग लडेर पार्टीलाई सही ठाउँमा ल्याउने, नभए प्रचण्डबाट अलग हुने मानसिकता रायमाझीले बनाउनुभएको छ ।

आक्रामक र राष्ट्रवादी चरित्रका टोपबहादुर रायमाझीले प्रचण्डलाई छोड्नुपर्ने अवस्था आएमा उहाँ बाबुराम भट्टराई नेतृत्वको समूहमा सामेल हुनुहुने अनुमान धेरैले गर्न सक्छन्, तर रायमाझी अब बाबुरामलाई कुनै हालतमा पनि नेता अस्वीकार गर्ने मानसिकतामा हुनुहुन्छ । उहाँ नयाँ दल खोलेर ‘खुद्रे पसल’ सञ्चालन गर्ने सोचमा पनि नरहेको बताइन्छ । प्रचण्डलाई छोडेपछि रायमाझीले के गर्नुहोला भन्ने निष्कर्षमा अहिले नै पुग्ने बेला भइसकेको छैन । तर, उहाँ नेकपा एमालेमा सामेल हुने अनुमान भने गर्न सकिन्छ । रायमाझी पाँच नम्बर प्रदेशको हाल कायम नक्सा बदल्ने पक्षमा हुनुहुन्न । प्रदेशमा पहाड र तराई दुवै हुनुपर्छ भन्ने अडान राख्नुहुने उहँँले सीमाङ्कन बदलिए सङ्घर्ष गर्ने सार्वजनिक घोषणा पनि धेरै पहिले नै गरिसक्नुभएको छ । नेकपा एमाले पनि प्रदेश नं. पाँचको सिमाना हेरफेर गर्ने पक्षमा छैन । यो मुद्दामा एमाले र रायमाझीको विचार मिल्ने र सँगै सङ्घर्षमा उत्रने सम्भावना छ । त्यसैले अन्ततः रायमाझी एमालेमै जानुहुने देखिएको छ ।