
विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह गरे ।
सम्बोधनका क्रममा उनले भने– ‘तपाईंहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हर समय लाग्न मेरो आग्रह छ । विदेशमा प्राप्त गरेको ज्ञान र सिपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन ।’
गैरआवासीसय नेपाली संघ अष्ट्रेलिया र न्यु साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो समारोहमा मन्त्री डा. महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरे ।
नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ्यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै उनले नेपालमा लगानीको वातवरण अव राम्रो भएको वास्तविकता बुझ्न र आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दिए ।
गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको स्मरण गर्दै मन्त्री महतले यससम्बन्धी कानुनको निर्माण चाँडै हुने जानकारी दिए ।
आफू मन्त्री भएपछि खाडीमा रहेका लाखौँ लाख नेपालीलाई ध्यानमा राखेर आपूmले काम गरेको र त्यसको पहिलो निर्णय सानै भए पनि खाडीका केही देशमा पासपोर्ट निर्माणका लागि लाग्ने दस्तुर कम गरेको जानकारी गराए । उनले परराष्ट्र नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कूटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा पनि राखे । उनले भने– ‘भन्नुपर्ने र राख्नुपर्ने ठाउँमा आफ्ना कुरा नराख्ने तर सडकमा ठूलो आवाजका साथ यस्तो संवेदनशील विषयमा नाराबाजी गर्ने गरिएको छ, यो उचित भएन ।’
सो कार्यक्रममा मन्त्री डा. महतले गैरआवासी नेपाली संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । यसैगरी मन्त्री महतले आजै बिहान अष्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरे ।
सिड्नीमा नेपाल अष्ट्रेलिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तरक्रियामा पनि मन्त्री डा. महत सहभागी भए । त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्रको सबलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पवर्तका पूर्वसभापति नवराज गुरुङ, संस्थाका अध्यक्ष विवेक थापा, सल्लाहकार नारायण काफ्ले, पूर्वअध्यक्ष महेन्द्र थापा र छिरिङ तेन्जी शेर्पालगायतले अष्ट्रेलियामा रहेका नेपालीको अवस्था र सम्भावनाका बारेमा चर्चा गरेका थिए ।
मन्त्री डा. महतले शनिबार सिड्नीमा गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र यहाँस्थित नेपाली दूताबासद्धारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् ।
प्रतिक्रिया