भवानीले रङ बदले

भवानीले रङ बदले


bhawani-subedi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सङ्कटमा पर्नुअघिसम्म आफूलाई ‘आयुक्त’झैँ प्रस्तुत गरी अख्तियारमा हैकम चलाएका प्रेस सल्लाहकार भवानी सुवेदीको ‘हाइफाई’ उस्तै देखेर अख्तियारका कर्मचारीहरू चकित परेका छन् । सम्बद्ध सूत्रका अनुसार सुवेदीको व्यवहारमा फरकचाहिँ के देखिएको छ भने हिजो उनी ‘प्रमुख आयुक्त कार्की मेरा इसारामा चल्छन्’ भन्थे भने कार्की निलम्बनमा परेपछि बाँकी आयुक्तको पनि प्रेस सल्लाहकार मै हुँ भन्दै उनले लोकमानका पालामा भएका निर्णयका गोप्य फाइलहरू गुप्त ढङ्गले बाहिर ल्याउने, पत्रपत्रिकामा प्रकाशन गराउने र सर्वोच्चको मुद्दामा कार्कीको विरुद्धमा सहयोग पुग्ने ठानी फाइलका फोटोकपी मिडिया तथा सम्बन्धित मानिसहरूकहाँ सम्प्रेषण गर्ने गरेका छन् । कार्कीविरुद्ध भए–नभएका कागजात सार्वजनिक गराएर उनका विरोधीलाई मसला प्रदान गर्ने र अदालतबाट जसरी पनि हराउने खेलमा सुवेदी सक्रिय रहेको उनकै मित्रमण्डलीको बुझाइ छ । अख्तियारबाट गोप्य फाइलका फोटोकपी हात पार्न उनले कार्यालयका निकटतम् कर्मचारीलाई नै धम्क्याउने गरेकोसमेत बताइन्छ ।

ज्ञातव्य छ, अख्तियारभित्रका कुनै पनि गोप्य सूचना वा निर्णयहरू आधिकारिक व्यक्तिले मात्र पत्रपत्रिकामा दिने भनी वर्तमान कार्यबाहक प्रमुख दीप बस्नेतले अख्तियारका सबै कर्मचारीसमक्ष सुनाएको निर्णय लत्याउँदै गोप्य कागजात बाहिर निकाल्ने काम भवानी र उनका कम्प्युटर सहयोगी राधा श्रेष्ठले गरिरहेका छन् । हालका आयुक्तहरूको नजिक हुनका निम्ति उनीहरूले यस्तो व्यवहार गरेको चर्चा अख्तियारका कर्मचारीबीच चल्ने गरेको छ ।