मैत्रीयको नवौँ साधारणसभा सम्पन्न

मैत्रीयको नवौँ साधारणसभा सम्पन्न


maitriya-3

बालकोट (भक्तपुर) स्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयमन्त्री हृदयराम थानीले साधारणसभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै सहकारीको महत्वबारे प्रकाश पार्नुभयो । मैत्रीय ऋण तथा बचत सहकारी संस्थाले मिहिनेतका साथ स्थानीय सहकारी सदस्यलाई सेवा दिनुका साथै उन्नतिको मार्गमा लम्केकोे, सहकारीको सहयोगले जनतामा आत्मबल बढेको, निजी तथा सरकारी क्षेत्र नपुगेको स्थानमा सहकारी पुगेको उल्लेख गर्दै सहकारी ऐन चाँडो पारित गराउन आफू प्रयत्नशील रहेको जानकारी दिनुभयो । जनताको रकमको रक्षाका लागि आफू लागिपरेको भन्दै मन्त्री थानीले घरको बाकसमा नभई सहकारीमा रकम जम्मा गरेर लाभ उठाउन स्थानीय नागरिकलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले सामूहिक प्रयास नै सफलताको आधार भन्दै सहकारी नै आर्थिक समृद्धिको आधार सुरु गर्ने मैदान भएको बताउनुभयो । दक्ष र असल मान्छे नभई समाज सफल हुन नसक्ने उहाँको भनाइ थियो ।
साधारणसभा समारोहका सभापति एवम् मैत्रीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारीको माध्यमबाट आर्थिक विकास, आयआर्जनका आयाम, सीप र क्षमता अभिवृद्धिसहित नेतृत्व विकासमा समेत मद्दत पुगेको उल्लेख गर्दै सहकारीले सबै वर्ग र समूहका व्यक्तिलाई समेट्दै लाभान्वित तुल्याएको दाबी गर्नुभयो ।

संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको साधारणसभामा अतिथिका रूपमा देशान्तर साप्ताहिकका प्रधानसम्पादक एवम् सवाजसेवी कविर राणा, नेपाली काङ्ग्रेस भक्तपुरका सचिव एवम् मेरिगोल्ड स्कुलका अध्यक्ष उद्धव सिलवाल, भिवोर सोसाइटी विकास बैंकका प्रबन्धक अशोककुमार भण्डारीलगायतले पनि मन्तव्य दिएका थिए । कोषाध्यक्ष दिवाकर सिलवालले वार्षिक आर्थिक प्रगति प्रतिवेदन, सचिव सुमन सिलवालले वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक उमेश सिलवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमबीच ज्येष्ठ नागरिक सम्मान, बालबचत सम्मान प्रदान गरिनुका साथै उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीहरूलाई पनि सम्मान गरिएको थियो । सदस्यसङ्ख्या करिब १७ सय रहेको तथा सेयर पुँजी एक करोड २८ लाख ९९ हजार सात सय रहेको सो सहकारीले गत आर्थिक वर्षमा कुल आम्दानी एक करोड ९१ लाख ६७ हजार ६ सय एक्काइस रुपैयाँ गरेकोमा सबै खर्च कटाएर २० लाख ५० हजार सात सय नब्बे खुद नाफा गरेको जनाएको छ । सो संस्थाले हालै एक करोड लगानीमा जग्गा खरिद गरी आफ्नै भवन निर्माण कार्य आरम्भ गरेको पनि जनाएको छ ।