राष्ट्रपतिको प्रयत्न पनि असफल, खाना नखाई बाहिरिए प्रचण्ड

राष्ट्रपतिको प्रयत्न पनि असफल, खाना नखाई बाहिरिए प्रचण्ड


bidh-pran

राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गर्नुभएको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गर्नुभएको थियो । राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट पैदा हुने भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन हुनुपर्ने धारणा राख्नुभएको थियो । राष्ट्रपतिलाई सकारात्मक भूमिकामा पाएपछि प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमत भइदिन ओलीलाई विशेष आग्रह गर्नुभएको थियो । तर, ओली ‘टसबाट मस’ हुनुभएन । ओलीले भन्नुभयो, ‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता छ, राष्ट्र र राष्ट्रियतालाई असर गर्ने कुनै कार्य हुन नदिन एमाले प्रतिबद्ध छ ।’ ओलीका कुरा सुनेपछि काङ्गे्रस सभापति शेरबहादुर देउवाले भन्न्ुभयो, ‘बरु लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे हामी सकारात्मक हुन सक्छौँ, ओलीजीले संविधान संशोधनमा सहमति जनाइदिनुप¥यो ।’ देउवाको आग्रहलाई पनि ओलीले टेर्नुभएन । त्यसअघि गत साता प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवाले लोकमानका विषयमा सोच्न सकिने भन्दै संशोधन प्रस्तावमा सहमत भइदिन आग्रह गर्नुहुँदा ओलीले ‘लोकमानको विषयलाई संविधान संशोधनसँग जोड्न नहुने’ जवाफ फर्काउनुभएको थियो ।

रात्रिभोजको अवसरमा छलफल हुँदा ओलीले संशोधन प्रस्तावबारे पुरानै अडान कायम राख्नुभएपछि प्रधानमन्त्री प्रचण्डले ‘त्यसो भए हामी संविधान संशोधन प्रस्ताव दर्ता गर्छौं, संसद्मा छलफल गरौँ, तर संसद् अवरुद्ध तुल्याउने या सङ्घर्ष गर्ने काम नगरौँ’ भनी ओलीसँग आग्रह गर्नुभएको थियो । तर, ओलीले प्रचण्डको सो आग्रहलाई पनि सकारात्मक रूपमा लिनुभएन । उहाँले भन्नुभयो, ‘हामी संशोधन आवश्यक नरहेको ठान्छौँ, बलजफ्ती संशोधन प्रस्ताव दर्ता गरियो भने त्यसको विरुद्ध संसद्भित्र र सडकमा पनि विरोध गर्छौं, सङ्घर्षमा उत्रिन्छौँ ।’ यसरी केपी ओलीलाई राष्ट्रपतिसहितले सहमतिमा ल्याउन गरेको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्ड केही पनि नखाईकन रात्रिभोजबाट बाहिरिनुभएको थियो । भनिन्छ, प्रचण्ड आफ्नी पत्नी सीताबिना रातिको खाना खान मन पराउनुहुन्न । कसैले आफूलाई मात्र भोजमा बोलाएको छ भने उहाँ कुनै न कुनै बहाना बनाएर भोज नखाईकन निस्कने गर्नुहुन्छ ।
तर, राष्ट्रपतिद्वारा आयोजित भोजमा भने प्रचण्डले केही न केही खाइदिने विश्वास गरिएको थियो । ओलीलाई मनाउन नसकिने देखिएपछि खानेकुरातिर प्रचण्डले ध्यान नदिनु भएको बताइन्छ । घरमा आफन्तहरूलाई बोलाएको बताएर प्रचण्ड खाना नखाईकन राष्ट्रपतिनिवासबाट बाहिरिनुभएको बुझिएको छ । भोजबाट बाहिरिँदै गर्दा प्रचण्डले आफूहरू संविधान संशोधन प्रस्ताव दर्ता गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदै संसद् अवरुद्ध पार्ने काम नगर्न ओलीलाई दोहो¥याएर आग्रह गर्नुभएको थियो । भोजका अवसरमा राष्ट्रपतिबाट अभिव्यक्त विचारबाट प्रधानमन्त्री प्रभावित हुनुभएको र उहाँले यस प्रकरणमा राष्ट्रपतिबाट आवश्यक सहयोग हुने विश्वास गर्नुभएको छ ।