
– त्रिभुवनचन्द्र वाग्ले
ए दाजु तिम्रो गाउँ र मेरो जन्म ठाउँ
नजिकै हो नि
तर के गर्ने ! म पयरले सयर गर्छु–
तिमी विचारले विचरण गर्छौ
यति भनेपछि भन्नुपरेन
म आकार हुँ तिमी निराकार ।
म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु
तिमी माछापुच्छ्रेलाई टोपी बनाएर शिरमा लगाउँछौ
यति भनेपछि भन्नुपरेन
म आखाँले देख्छु तिमी मस्तिष्कले देख्छौ ।
ए दाजु ! कविता त म पनि लेख्छु
तर के गर्नु ! म अक्षरले कविता लेख्छु
तिमी आत्मले लेख्छौ
यति भनेपछि भन्नुपरेन–
म व्यञ्जनमा बोल्छु तिमी व्यञ्जनमा बोल्छौ ।
म पाँच फिट सात इन्च अग्लो
दाइ उठेको-अग्लेको देखेको छैन
यति भनेपछि भन्नुपरेन
म तिम्रो बिहानी घाम छेक्ने अर्घौं
तिमी बिहानी सूर्यमा रङ्गीन लालयित फेवा
थाह छ अग्ला अर्घौं पहिरिएका घटना
तर सुनेको छैन गहिरो फेवा झुकेको÷सुकेको कथा
यति भनेपछि भन्नुपरेन
अर्घौं पहिरिन सक्छ– आकार
फेवा गहिरिन सक्छ– निराकार
तिमी गुड्ने ह्विलचियर कवितासङ्ग्रह हो
म दौडने गोडा सङ्ग्रहको एक अनुच्छेद हो
यति भनेपछि भन्नुपरेन दाइ
तिमी पूर्ण हौ– विजय
म एकतिहाइ हुँ– त्रिभुवन ।
ए दाजु !
खुट्टा हुनेले क्या दौडे है लिगलिगकोट
र पाए पद पगरी
यति भनेपछि भन्नुपरेन
खोरियामा तिमीले मैले, मैले तिमीले
लखटेको ढेंडुले लगाएको पगरी
कत्ति नसुहाएको ।
प्रतिक्रिया