भुवनलाई साम्राज्ञीले अङ्कल पुकारेपछि…

भुवनलाई साम्राज्ञीले अङ्कल पुकारेपछि…


samragyee-with-buwan

गायक बन्ने धुनमा लाग्दालाग्दै ‘नायक’ बन्न पुगेका चिरपरिचित सिनेअभिनेता भुवन केसीको फिल्मी पदार्पण ‘जुनी’ नामक चलचित्रबाट भएको थियो ०३८ मा । उमेरका हिसाबले जुनी आज पैँतीस वर्षको भयो, भुवनकै उमेरचाहिँ ठ्याक्कै यति नै भयो भनी खुलासा गर्नु मनासिव नहोला । किनकि, पाँच दशक अवधि काटेको निकै भए पनि भुवन अझै आफूलाई एक तन्नेरीकै रूपमा प्रस्तुत गर्न रुचाउँछन् । आफ्ना छोरा उमेरका कसैले ‘अङ्कल’ पुकार्दा उनलाई भाउन्न छुट्छ । यस कुराको खुलासा भयो गत शनिबार आयोजित कामना फिल्म अवार्डको अवसरमा ।

अवार्ड समारोहमा उत्कृष्ट नवनायिकाको उपाधि पाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई चलचित्रमा डेब्यु गराउने पात्रका नाताले भुवनप्रति कृतज्ञता दर्शाउनका निम्ति ‘धन्यवाद भुवनजी’ भन्ने अभिव्यक्ति दिइन् । समारोहमा झिल्के बनेर उपस्थित भएका भुवन पनि साम्राज्ञीको सो सम्बोधनसँगै मख्ख देखिए । साम्राज्ञीको सम्बोधनले भुवन मख्ख परे पनि साम्राज्ञी र भुवनलाई नजिकबाट चिन्ने सिनेकर्मीहरूचाहिँ जिल्ल परे । आखिर साम्राज्ञीले बाबुसमानका भुवनलाई किन ‘जी’ भनेर सम्बोधन गरिन् ? जबकि यसअघि सधैँ उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुपर्दा भुवन केसीलाई ‘भुवन अङ्कल’ भन्ने गर्दथिन् ।

भुवनपुत्र अनमोल केसीसँग ‘ड्रिम्स’ चलचित्रमार्फत हिट जोडी बनेर रजतपटमा उदाएकी साम्राज्ञीले आखिर किन आफ्ना फिल्मी गडफादर भुवनलाई ‘जी’ सम्बोधन गरिन् त ? जवाफ रोचक छ । पटक–पटक सार्वजनिक कार्यक्रममा साम्राज्ञीले अङ्कल भनेर पुकार्न थालेपछि भुवनले साम्राज्ञीलाई हकारेका रहेछन्, ‘ए † मलाई अङ्कल होइन ‘सर’ वा ‘जी’ लगाएर सम्बोधन गर्नु है । अङ्कल भनेर मलाई बूढो तुल्याउने होइन †’ साम्राज्ञीका अनुसार अनमोलका बाबु भएकाले उनी त भुवनलाई अङ्कल भनेरै पुकार्न चाहन्छिन्, तर अङ्कल भन्दा आफू बूढो मान्छे ठहरिने ठानेर भुवनले त्यस्तो सम्बोधन नगर्न आदेश दिएका छन् ।

मान्नैपर्छ ‘सुपरस्टार’ भुवन केसीलाई, जो हजुरबाउ बन्ने उमेरमा पनि बीस–बाइसका यौवनाले अङ्कल पुकार्दा तन्नेरी जोस निकालेर हकार्छन्–, ‘एई ! मलाई अङ्कल होइन ‘जी’ या ‘सर’ भनी सम्बोधन गर !’