रेखाले ‘हिन्दुराष्ट्र’को लागि लड्ने !

रेखाले ‘हिन्दुराष्ट्र’को लागि लड्ने !


rekha-thapa-rekha

प्रचण्ड नेतृत्वको माओवादी पार्टीको मुलुकमा जगजगी भएको बेला प्रधानमन्त्री प्रचण्डसँग सार्वजनिक स्थलमा छमछमी नाचेर थप चर्चा कमाएकी चलचित्र अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी छिन् । रेखालाई पार्टी प्रवेश गराउन सोमबार काठमाडौंमा राप्रपाद्वारा आयोजित विशेष कार्यक्रममा आफूले कहिल्यै कुनै पार्टीको सदस्यता नलिएको दाबी गर्दै रेखाले पहिलो पटक राप्रापाको सदस्यता लिएको र यही पार्टीको झण्डा ओढेर मर्ने कसम खाइन् ।

बलिउडका एक दिग्गज निर्देशकले कुनैबेला भनेका थिए, ‘मुह में चुना पोतने वालोंका कभी भरोसा नहीँ करना होगा ।’ यस अभिव्यक्तिको आशय कलाकारहरू जुनसुकै बेला परिस्थितिअनुसार बदलिन सक्ने हुँदा तिनमाथि पूरै विश्वास गर्नु हुँदैन भन्ने हो । ती निर्देशकको धारणा सत प्रतिशत सही नहुन सक्छ, तर ‘नखरावाली अभिनेत्री’को पहिचान बनाएकी रेखाले चाहिँ अस्थिर र महŒवाकाङ्क्षी स्वभाव प्रदर्शन गर्दै कलाकारको भरोसा गर्न नहुने रहेछ भनी सोच्न बाध्य तुल्याइदिएकी छिन्, कमसेकम माओवादी अध्यक्ष प्रचण्ड यतिबेला यस्तै सोचिरहेका होलान् ।

गत साता मात्रै राप्रपा प्रवेश गरेकी गायिका एवम् सञ्चारकर्मी कोमल ओलीले उद्घोषण गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको हातबाट पार्टी–सदस्यतासहित फुलमाला पहिरिँदै नवप्रवेशी रेखाले उपस्थित जनलाई सम्बोधन गर्दै यस्तो भाषण दिइन्–

अकस्मात यो के भयो ? रेखा थापा एक्कासी राप्रपामा कसरी ? तपाईंहरूको मानसपटलमा यस्तै प्रश्नवाचक भाव उब्जिरहेको होला । नेपाली चलचित्रको इतिहास र पृष्ठभूमि हेर्दा रेखा थापा को हो भनेर चिनाइराख्नु त पर्दैन होला । आज रेखा जुन मञ्चमा उपस्थित छे वा जुन पार्टीमा आवद्ध भई, यो किन र केका लागि भनी घोत्लिरहनु पर्दैन । मेरा विगत र वर्तमानका फिल्महरूले पुष्टि गरिसकेका छन् । कहिले दुर्गा, रामप्यारी, कहिले काली बनेर पर्दामा अन्याय अत्याचारको विरुद्ध म उभिइसकेको छु ।

म समाजसेवाका लागि कुनै दुर्गम स्थान या सहरबजार जतासुकै जाँदा पनि हरेक जनताले ममा नेतृत्व क्षमता भएकी नायिकाको रुपमा देखेका छन् । रेखाले हाम्रो धर्मका कुरा उठाउँछे, हाम्रो रक्षा गर्न सक्छे भन्ने बुझिसकेका छन् । विचारको हिसाबले फरक भएको हो कि भन्ने प्रश्न उब्जिएको होला– रेखा थापा किन राप्रपामा ? वास्तवमा म विगत चार वर्षदेखि नेपालको राजनीतिलाई गहिरोसँग अध्ययन गरिरहेकी थिएँ । जब–जब धर्तीमा अत्याचार बढ्छ, तब रक्षाका निम्ति काली, दुर्गाको रूप धारण गरेर भगवानको अवतार हुन्छ रे । आज हामीलाई यही कुराको खाँचो छ । म एउटा हिन्दु नारी हुँ, राष्ट्रवादी केटी हुँ । र, म गर्वका साथ भन्न सक्छु, राप्रपा नेपाल नै मेरो घर थियो । यो नै मेरो विचारसँग सहमत हुने पार्टी थियो ।

हिजो एउटा जनलहर थियो, एकपटक नयाँ (माओवादी)लाई मौका दिउँ न त भन्ने । नयाँ सोचलाई अवसर दिने जनलहरमा म एउटा कलाकारको नाताले माओवादीको जनलहरमा मिसिन पुगेको थिएँ । म जनताको खुसीका निम्ति, केही परिवर्तन हुन्छ कि भनेर गएको थिएँ । तपाईंहरूमा यस्तोखाले सोच या भ्रम केही होला, रेखा माओवादीको सदस्य हो । एउटा सफल कलाकार भएकाले एउटा पार्टीले स्विकार्नु स्वाभाविक हो । त्यसैले होला, मलाई चुनावको टिकट पनि दिइएको थियो । तर टिकट पाएर पनि म उम्मेद्वार हुन पाइनँ । त्यो प्राविधिक गडबडी थियो । सायद, म राप्रपाकी छोरी थिएँ, उम्मेद्वार हुन नपाउनु मेरो भाग्य पो थियो कि ?

म स्पष्ट पार्न चाहन्छु, आजसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको व्यक्ति हुँ । आज राप्रपाको सदस्यता लिएकी छु । यो नै मेरो पार्टी हो । मेरा शुभचिन्तकलाई अझै पनि भ्रम होला, रेखाले पार्टी बदली, रेखा अवसरवादी भई । माफ गर्नुहोला, रेखा थापा कहिल्यै अवसरवादी छैन । म राष्ट्रको विपरीत गएर कुनै पनि सम्झौता गर्न सक्दिनँ । म राष्ट्रियताका लागि र हिन्दु धर्मका लागि लडिरहन्छु । म कुनै लोभमोहका कारण राप्रपा प्रवेश गरेको होइन । मेरो आफ्नै आत्माको निर्णयले आत्मसन्तुष्टीका लागि पार्टी प्रवेश गरेकी हुँ ।

म धर्मकासंस्कृतिका प्रत्येक चालचलन मानिरहेको हुन्छु । साउनमा हरियो चुरा लगाएर, तीजमा दिदीबहिनीको बीचमा नाचेर, दशैँ–तिहारमा सद्भाव बाँड्ने नारी हुँ । यसको सम्मान राप्रपामा देखेँ, त्यसैले यो पार्टीमा छु । म राप्रपामा उभिएको कुनै सपना बाँड्न, देशको आमुल परिवर्तन हुन्छ, म यसो गर्छु उसो गर्छु भन्न लाज हुन्छ । म वरिष्ठ नेताहरूको मार्गदर्शन चाहन्छु । म के गर्छु भन्ने मेरो भोलिको कार्यशैलीले निर्धारण गर्ने कुरा हो । आज म निकै गौरवान्वित छु । म अब जति योगदान दिन सक्छु, त्यो सबै यही पार्टीका लागि दिनेछु । म कर्मनिष्ठ युवती हुँ र राप्रपा नै मेरो पहिलो अनि अन्तिम पार्टी हो । म राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु ।