मधेस फाउण्डेसनसँग मागियो हिसाब

मधेस फाउण्डेसनसँग मागियो हिसाब


tulanarayan-saha

मधेस फाउण्डेसन नामक गैरसरकारी संस्थाले पश्चिमा मुलुकहरूबाट ठूलो रकम भित्र्याएर अनियमितता गरी हिनामिना गरेको शङ्का भएपछि आम्दानी, खर्च र कामको विवरण मागी सूचना आयोगमा उजुरी परेको छ । यही मङ्सिर १२ गते गभर्नेन्स इन मधेस–२०१४ प्रोजेक्ट, बेस लाइन एन्ड सिटिजन पर्सेप्सन सर्वे– २०१६ र स्पेक्ट्रम कन्सल्टमार्फत मधेसमा स्टे«न्थनिङ भ्वाइस एन्ड एकाउन्टेबल गभर्नेन्स परियोजनाको नाममा चार वर्षभित्र कुन–कुन दातृ निकायबाट कति रकम आएको हो, प्राप्त रकमबाट के, कहाँ, कति काम भयो र त्यसनिम्ति चार वर्षभित्र कति रकम खर्च गरियो भनी एक व्यक्तिले मधेस फाउण्डेसनमा निवेदन दिएका थिए । निवेदन दिन पुगेका व्यक्तिलाई सूचना उपलब्ध गराउनुको सट्टा फाउण्डेसनसम्बद्ध व्यक्तिले हप्की–दप्की गरेपछि निजले हुलाकमार्फत फाउण्डेसनमा निवेदन दिएका थिए ।

निवेदन दिएको १५ दिनसम्म जवाफ प्राप्त नभएपछि निवेदकले यसै साता सूचना आयोगमा फाउण्डेसनविरुद्ध उजुरी दिएका हुन् । पहिले दिग्विजय मिश्र अध्यक्ष रहेको र हाल रूपा झा अध्यक्ष तथा रीता साह सदस्य रहेको तुलानारायण साहको हालिमुहाली चल्ने मधेस फाउण्डेसनले युरोपियन युनियन तथा सम्बद्ध संस्थाहरूबाट पकट–पटक गरी १७ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गरेको, तर उद्देश्यबमोजिम काम नगरी रकम हिनामिना गरेको आशङ्का छ । रीता साह तुलानारायण साहकी धर्मपत्नी हुन् । फाउण्डेसनले धर्म परिवर्तनको लागि मात्र दुई करोड रुपैयाँ युरोपियन युनियनबाट प्राप्त गरेको बताइन्छ ।
ज्ञातव्य छ, २०६३ को परिवर्तनयता नेपालमा युरोपियन युनियनलगायतका पश्चिमा मुलुकसम्बद्ध संस्थाहरूले विभिन्न व्यक्ति र संस्थाको नाममा ठूलो रकम उपलब्ध गराएर सामाजिक सद्भाव भड्काउने काम गर्दै आएका छन् । यसप्रकारको संस्थाका गतिविधिमाथि सरकारले निगरानी राख्न नसक्दा देशमा विकृति र विसङ्गति बढ्दै गएको छ ।