करिश्माद्वारा बाबुरामको ढाकछोप

करिश्माद्वारा बाबुरामको ढाकछोप


baburam-karishma
करिश्मा मानन्धरको नाम सुन्नेबित्तिकै नेपाली चलचित्रकी सुन्दरी एवम् लोकप्रिय नायिकाका रूपमा जो–कसैले याद गर्छन् । याद यस अर्थमा कि उमेर तथा विविध कारणले रजतपटमा ‘नायिका’को रूपमा करिश्मा प्रकट हुन लगभग छोडिसकेकी छिन् । बरु नयाँ शक्ति पार्टीकी नेतृको रूपमा आफूलाई चिनाउन लालायित हुन थालेकी छिन् उनी । नयाँ शक्तिका हर्ताकर्ता बाबुराम भट्टराईले करिश्मालाई सांस्कृतिक विभागकै प्रमुख बनाइदिएका छन् ।
पार्टीको सांस्कृतिक विभागको काम–कर्तव्य वा जिम्मेवारी के हो, कसरी निर्वाह गर्नुपर्छ भन्ने कुरा हिरोइन करिश्मालाई कति थाहा होला या नहोला, यो खोजीकै विषय हो । नयाँ शक्तिको नेतृ तथा सांस्कृतिक विभाग प्रमुखको दायित्व सम्हालेयता उनले कति काम गरेर देखाइन्, यो पनि स्वयम् करिश्मा या उनलाई नियुक्त गर्ने बाबुराम भट्टराई नै जान्दा हुन् । तर, एउटा कुरा सचेत नेपाली तप्काले के चाहिँ जानकारी पाएका छन् भने बाबुराम भट्टराईको विरोध कहीँकतैबाट भएमा त्यो करिश्माका निम्ति पीडाको सन्दर्भ बन्न पुग्छ र उनी त्यसको प्रतिवादमा उत्रिन्छिन् ।

यसको ताजा उदाहरण बन्न पुगेको छ, बाबुराम भट्टराईमाथि गत सप्ताहान्त पोखरामा भएको कथित ‘जुत्ता प्रहार’को घटनाबारे सोसल मिडियामा चलेको हल्लामाथि करिश्माले फेसबुकमार्फत व्यक्त गरेको प्रतिक्रिया । आफू उक्त घटना भएको भनिएको बेला बाबुराम भट्टराईसँगै रहेको उल्लेख गर्दै करिश्माले नेपाली मिडियाप्रति शालीन पाराले तर घोर असन्तुष्टि जनाएकी छिन् । भट्टराईलाई कालो झन्डा मात्र देखाइएको जुत्ता भने प्रहार नभएको भनी प्रकाशित समाचारलाई आफ्नो वालमा सेयर गरेकी करिश्माले बाबुरामको व्यक्तित्वमाथि हिलो छ्याप्ने कोसिस गरिनु दुःखद् सन्दर्भ भएको घुमाउरो शैलीमा प्रकट गरेकी छिन् । बाबुराम भट्टराईलाई ‘मुलुकका लागि केही गर्छु भन्ने पात्र’का रूपमा चित्रित गर्दै करिश्माले सबैलाई एउटै बास्केटमा हालेर मूल्याङ्कन गर्न नमिल्ने तर्क गर्दै भट्टराईको पक्षपोषण गरेकी छिन् । उनको यो हदको ‘बाबुराम–भक्ति’ बुझेका र ‘जात्रा’ नामक चलचित्र प्रदर्शनमा बाबुराम भट्टराईकै साथमा करिश्मालाई देखेका एक सिनेकर्मीले फ्याट्टै ओकले, ‘कतै बाबुराम भट्टराई फेरि प्रधानमन्त्री बने भने करिश्माजीले अमेरिकाकै राजदूत बन्ने अवसर पाउलिन्जस्तो छ !’
b-k