सेवानिवृत्त एसएसपी थापा ‘नयाँ लडाइँ’को तयारीमा

सेवानिवृत्त एसएसपी थापा ‘नयाँ लडाइँ’को तयारीमा


bikrab-sing-thapa

एक निडर, हक्की, इमानदार र आफ्नो कर्तव्य तथा सङ्गठनप्रति वफादार प्रहरी अधिकृतका रूपमा चिनिएका प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापा ३० वर्षे सेवावधि पूरा गरी सेवानिवृत्त भएका छन् । पन्ध्र महिनादेखि काठमाडौं प्रहरी प्रमुखको दायित्व निर्वाह गर्दै आएका एसएसपी थापाले तीस वर्ष सेवा अवधि पूरा गरी यही मङ्सिर ३० देखि अनिवार्य अवकास पाएका हुन् ।

सेवानिवृत्त हुनुअघि सञ्चारकर्मीहरूसँग आफ्ना अनुभव र अनुभूति सेयर गर्दै एसएसपी थापाले मिडियाको सद्भाव र सहयोगका कारण आमनागरिकबीच आफ्ना सकारात्मक काम वा क्रियाकलाप सम्प्रेषण भएको भन्दै सञ्चारजगतप्रति आभार प्रकट गरे । देश, समाज र जनताको लागि आफूले जे–जति गरियो त्यो आफ्नो सङ्गठन एवम् सङ्गठनप्रमुखप्रतिको वफादारिता, जिम्मेवारीको बोध र मिडियाको सहयोगबाट सम्भव भएको उल्लेख गर्दै उनले पहुँच, प्रलोभन र प्रभावलाई वशमा राखी जनता र देशलाई अन्तःष्करणमा राखेर काम गरेकैले आफूलाई कर्तव्यनिर्वाहमा जश मिलेको खुलासा गरे ।

जिम्मेवारी निर्वाहको सवालमा मुलुकका अन्य चौहत्तर जिल्ला एकतिर र अर्कोतिर राजधानी उपत्यका राख्दा उपत्यकाकै जिम्मेवारी भारी र चुनौतीपूर्ण हुने दाबी गर्दै विक्रमसिंह थापाले जनताको माया र सङ्गठनप्रमुखको विश्वासका कारण आफूले काठमाडौं उपत्यकाको जिम्मेवारी पाएको तर्क गरे । आफ्नो जगिरेजीवनमा पच्चीस स्थानमा इन्चार्जको जिम्मेवारी सम्हालेको र सेवाकालको अन्तिम चरणमा राजधानीमा निर्वाह गरेको भूमिकाको आमनागरिकले प्रशंसा गरेको र आफ्नो निम्ति पनि स्मरणीय रहने उनले बताए ।

विभिन्न शक्तिकेन्द्र, अपराधी, माफिया र काला–व्यापारीलगायतले आफ्ना स्वार्थ पूरा गर्न कसरी र कस्ता प्रलोभन दिन्छन् भन्ने आफूले जानकारी पाएको र त्यस्ता विकारबाट अछुतो रहँदै ‘शक्तिकेन्द्रको दबाब’ झेल्न सकेकैले जनतामा आफ्नो छवि कायम भएको उनले स्वीकार गरे । अनावश्यक वा अनुचित दबाब झेल्न नसक्ने प्रहरीलाई ‘नामर्द’को संज्ञा दिँदा फरक नपर्ने थापाले बताए ।

सेवामा रहँदा अपराधी, माफिया, कालाबजारीया, तस्कर र गुन्डालगायतलाई हरदम निर्मम प्रहार गरेका एसएसपी थापाले बहुचर्चित युनिटी ठगी काण्डको सफल अपरेशन, बाँकेमा भगत सिंहलगायत आपराधिक व्यक्ति तथा भूमिगत सशस्त्र समूहको आतङ्क नियन्त्रण, रुपन्देहीमा नदी तथा प्राकृतिक सम्पत्तिको दोहन, भूकम्प र नाकाबन्दीका बेला काठमाडौंमा मौलाएको कालोबजारी नियन्त्रणलगायतमा ठूलो चुनौती झेल्दै देश र समाजलाई गुन लगाएका थिए । यिनै कर्मका कारण पनि थापा थप चर्चित बनेका थिए ।

०५७ सालमा नुवाकोटको तारुकेस्थित चौकीमा कार्यरत रहँदा माओवादी एम्बुसमा परेका थापालाई जिम्मेवारी निर्वाहप्रति देखाएको इमान्दारिताकै कारण नेपाल प्रहरीले ‘पूर्ण शान्ति पुरस्कार’बाट सम्मान गरेको थियो । सो घटनामा आफू मृत्युको मुखबाट बाल–बाल बचेको र श्रवणशक्तिमा क्षति पुगेको खुलासा गर्दै थापाले ‘वोनसको जिन्दगी’लाई प्रहरी सङ्गठन, देश र जनताको पक्षमा प्रयोग गरेको बताए । हालै प्रहरी सङ्गठनले थापालाई ‘उत्कृष्ट प्रहरी अधिकृत’को रूपमा समेत सम्मानित गरेको छ ।

प्रहरीमा आवद्ध भएकै कारण आफू समाज र राष्ट्रमा चिनिने मौका पाएको भन्दै उनले प्रहरीसँगको आवद्धतालाई कुनै अधिकृत तथा जवानले दुरुपयोग गर्न नहुने सुझाव दिए । देश, जनता, संगठन र संगठनप्रमुखप्रति जवाफदेही भएर काम गरे अपराध र अपराधीविरुद्ध चालिएका कदममा शतप्रतिशत सफलता पाउन सकिने विक्रमसिंह थापाको धारणा छ ।

विक्रमसिंह थापाजस्ता कर्मठ प्रहरी अधिकारी उमेर र उर्जा भरपुर रहेकै बेला सेवानिवृत्त भएबाट देश, समाज र स्वयम् प्रहरी सङ्गठनलाई अपुरणीय क्षति पुगेको अनुभूति गरिएको छ । तथापि, थापा स्वयम् भने एक न एकदिन जुनसुकै कर्मचारी वा राष्ट्रसेववकले अवकास पाउनैपर्ने भएकोले अवकासपछि समाजमा रहेर आफ्नै देश र जनताको लागि काम गर्ने वचनबद्धता प्रकट गर्छन् । अबका दिनमा आफू मिडिया क्षेत्रमा सम्बद्ध रही ‘नयाँ लडाइँ’ लड्ने तयारी गरिरहेको जानकारी थापाले दिएका छन् ।

bikram-thapa