‘बुझ्दै’ सफाइ दिँदै अख्तियार !

‘बुझ्दै’ सफाइ दिँदै अख्तियार !


Akhtiyar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई दैनिक काम गर्नबाट हतारहतार रोक लगाइनुको थप रहस्य खुल्न थालेको छ । कार्कीले अकुत सम्पत्ति कमाएका उच्चपदस्थ व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरेकोमा अहिले ती व्यक्तिलाई रातारात सफाइ दिन थालिएको छ । अनुसन्धानका क्रममा भ्रष्टाचार गरेको प्रमाणित हुने स्थितिमा रहेका र आफ्नो सम्पत्तिको स्रोत पुष्टि गर्न नसक्ने अवस्थामा रहेका अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूको अनुसन्धान प्रक्रिया बीचैमा रोकी सफाइ दिन थालिएपछि प्रमुख आयुक्त कार्कीलाई दैनिक काम गर्नबाट वञ्चित गर्नुको कारण स्पष्ट भएको हो । अख्तियार यतिबेला एमाले कार्यकर्तासमेत रहेका नवीनकुमार घिमिरे र पछिल्लो समयमा एमालेसँग विशेष सम्बन्ध बनाएका दीप बस्नेतले मनोमानी ढङ्गबाट चलाइरहेका छन् । नवीनकुमार घिमिरेको इसारा र इच्छाअनुरूप नेकपा एमालेका सांसद एवम् ठेकेदार जनार्दन ढकाललाई दीप बस्नेतले सफाइ दिएका छन् । ढकालमाथिको अनुसन्धान प्रक्रिया बन्द गरिएको छ । त्यसैगरी भीएस निकेतनका संस्थापक एवम् मधेसी जनअधिकार फोरमसम्बद्ध सांसद बाबुराम पोखरेललाई पनि बस्नेतले सफाइ दिएका छन् । काङ्गे्रसको सहानुभूति लिन सांसद उमेश श्रेष्ठमाथिको अनुसन्धान प्रक्रियामा पनि रोक लगाएर उनलाई सफाइ दिइएको छ । अब एमाले नेताहरू सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेहरूलाई सफाइ दिने उपायको खोजीमा बस्नेत लागेको बताइन्छ । पाण्डे दाजुभाइले नगद बुझाएर सफाइ लिने इच्छा नराखेका कारणले मात्र उनीहरूमाथिको अनुसन्धान प्रक्रिया रोकी सफाइ दिन ढिला भएको बुझिएको छ । अख्तियारमा २०६७ सालदेखि अनुसन्धानमा रहेका मुद्दाहरू अहिलेसम्म टुङ्गिएका छैनन् । क्रमबद्ध रूपमा नहेरी ‘अन्य’ आधारमा मुद्दाको किनारा लगाउन थालिएपछि जनार्दन ढकाललगायतका व्यक्तिहरूले सफाइको मौका पाएका हुन् ।

प्राप्त जानकारीअनुसार क–कसलाई सफाइ दिने हो त्यस्ता व्यक्तिहरूसँग सम्पर्क गर्ने र ‘कुरा मिलेपछि’ अनुसन्धान रोकी सफाइ दिलाउने कार्यको मध्यस्थता महाशाखा प्रमुख गणेश कार्कीले गरिरहेका छन् । अकुत सम्पत्तिसम्बन्धी मुद्दा हर्ने फाँट प्रमुखको जिम्मेवारी पाएका कार्कीमा ‘को–को व्यक्तिमा सफाइ लिन सक्ने हैसियत छ’ भन्ने पत्ता लगाउने क्षमता रहेको र उनले सम्बन्धित व्यक्तिसँग ‘कुरा मिलाएपछि’ सोको जानकारी आयुक्त दीप बस्नेतलाई गराउने र त्यसपछि सफाइ दिने प्रक्रिया सुरु गर्ने गरेको बताइन्छ । अकुत सम्पत्तिसम्बन्धी प्रारम्भिक अनुसन्धान हेर्ने जिम्मेवारी आयुक्तहरूमा दीप बस्नेत र गणेशराज जोशी रहेका छन् । सोझा र सत्जन मानिने जोशीलाई साथमा लिएर दीप बस्नेत र गणेश कार्की के गर्दै छन् भन्ने जानकारी स्वयम् जोशीले समेत पाउन सकेका छैनन् । एक समय नेपाली काङ्गे्रसको सांसद रहेका बालाराज कार्कीका सुपुत्र गणेश कार्की यही पुस १३ गतेदेखि सेवानिवृत्त हुँदै छन् र सेवाबाट अवकाश पाउनुअघि उनले अकुत सम्पत्ति कमाउनेहरूलाई ‘सेवा’ दिन विशेष समय खर्चने गरेका छन् । अहिले अख्तियारमा हरेक सोमबार र बिहीबार पूर्ण बैठक बस्ने गरिएको छ र एकपटक बाह्रदेखि चौध वटासम्म मुद्दाको किनारा लगाउने गरिएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्की काममा फर्कनुअघि नै सयौँ मुद्दा छानी–छानीकन किराना लगाउने अभियान जुन चलाइएको छ यसले लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिनुुको रहस्य राम्रोसँग खुलेको छ ।