चन्द्रागिरी केवुलकारमाथि बक्रदृष्टि किन ?

चन्द्रागिरी केवुलकारमाथि बक्रदृष्टि किन ?


badri-shrestha

– बद्रीनाथ श्रेष्ठ, सतुङ्गल, काठमाडौं

राजधानीको दक्षिणी भागमा थानकोटमाथि अवस्थित चन्द्रागिरि डाँडोको रौनक यतिबेला बेग्लै छ । इतिहास केलाएर हेर्दा यस डाँडामा रहेको इच्छापुरेश्वर महादेवको दर्शन गरेर इतिहास–पुरुष राजा पृथ्वीनारायण शाह काठमाडौं उपत्यका ओर्लिएर उपत्यका विजय हासिल गरेको पढ्न पाइन्छ । ऐतिहासिक दृष्टिले मात्र नभई धार्मिक हिसाबले पनि महत्वशाली यो स्थल प्रकारान्तरले अहिलेसम्म ओझेलमै थियो । तर, चन्द्रागिरि हिल प्रालि नामक कम्पनीले मन्दिर, फनपार्क, होटेल आदिको व्यवस्थासहित केबलकार निर्माण गरिदिएपछि ओझेलमा परेको चन्द्रागिरि डाँडाको चोला बदलिएको छ । फटाफट पैदल हिँड्नेलाई पनि चन्द्रागिरि पुग्न दुई घन्टाभन्दा बढी समय लाग्दै आएकोमा अब यो दूरी लगभग आठ मिनेटमै छिचोलिनेछ ।

उक्त केबलकार चढ्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । केबलकारमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीदेखि उच्च ओहोदामा रहेका अनेकौँ व्यक्तिले राजधानी उपत्यकादेखि हिमाल, पहाड र तराईसम्मका दृश्य अवलोकन गरिसकेका छन् । तर, गत साता बिहीबार चन्द्रागिरिमा छुट्टै माहोल देखियो । केही महिनाअघि नै सञ्चालनमा आएको उक्त केबलकारको उद्घाटन प्रधानमन्त्री रहेका पुष्पकमल दाहालबाट गराइयो । यस घटनाबाट पङ्क्तिकारको मनमा के भाव उत्पन्न भयो भने भालेश्वर महादेवको यस पवित्र स्थानमा आफूलाई ‘भाले’ ठान्दै विगतमा मठमन्दिर भत्काउने, देवस्थलहरूमा फोहोर गर्न लगाउने, हिंसाको विकारयुक्त इतिहास बोकेका पात्रका हातबाट उद्घाटन गर्न लगाउनु के आवश्यक थियो र ?

जे होस्, पर्यटन प्रवद्र्धन तथा देशको आर्थिक विकास र समृद्धिमा २.४ कि.मि. लम्बाइको यस केबलकारले पनि महत्वपूर्ण योगदान दिनेमा शङ्का छैन । तथापि, यस्तो महŒवपूर्ण कार्यको पनि केही असामाजिक तत्वबाट विरोध सुरु गरिएको छ । केबलकार वा यसका सञ्चालकहरूबाट कुनै स्वार्थ पूर्ति हुन नसकेर बाधा–विरोधका स्वर उरालिएको हुनसक्छ । सरकारी वन कब्जा गरेकोजस्ता भद्दा आरोप लगाइएको छ । पङ्क्तिकारले बुझेअनुसार सरकारी जमिन चालीस वर्षका लागि केबलकार कम्पनीलाई भाडामा उपलब्ध गराइएको हो । नियमबमोजिम गर्नुपर्ने सबै प्रक्रिया पु¥याएर नै सरकारले वन क्षेत्र उपलब्ध गराएको हुनुपर्छ । यसमा टाउको दुखाएर विकास–निर्माण कार्यको विरोध गर्नु एकप्रकारको ‘प्रतिगमन’ नै हो । हेक्का रहोस् ।