विद्युत् व्यापार निर्देशिकाबारे यस्तो छ भारतीय दाबी

विद्युत् व्यापार निर्देशिकाबारे यस्तो छ भारतीय दाबी


nepal-bharat

छिमेकी मित्रराष्ट्र भारतले सीमापार विद्युत्को पारदर्शी व्यापार प्रवद्र्धनमा जोड दिएको छ । यसबारे नयाँ निर्देशिका जारी गर्दै उसले ऊर्जा व्यापारका लागि आवश्यक खाका र प्रक्रियाको आवश्यकतामा जोड दिएको छ । एक विज्ञप्ति जारी गर्दै भारतले जनाएअनुसार सीमा पार बिजुली व्यापारमा संलग्न हुने देशका लागि प्रक्रिया सरलीकृत तुल्याइएको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार भारतका छिमेकी देशसँग ऊर्जा विनिमयको माध्यमबाट ऊर्जा व्यापारबारे महत्वपूर्ण अनुभवको अभाव रहेकाले यसका लागि भारतले नेतृत्व लिएको छ । यस सम्बन्धमा प्रसारण लाइन, तालिका एवम् लेखा, ग्रिड सञ्चालन, सुरक्षालगायतका विषय सो निर्देशिकामा समेटिएको छ । यसबाट छिमेकी मुलुकलाई हतोत्साहित पार्ने काम नगरिएको जनाउँदै भारतले यस्ता ऊर्जा उत्पादन परियोजनाको उपयोगमा आवश्यक विषयको विकास गरिने जनाएको छ । निर्देशिकाको विकास व्यापक अनुभवको आधारमा गरिने पनि बताइएको छ ।

यसैबीच भारतको विद्युत् मन्त्रालयले हालै ल्याएको सीमा वारपार विद्युत् व्यापारसम्बन्धी निर्देशिकाबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला निर्देशिकाले विद्युत् निर्यातमा नेपालका सरकारी मात्र नभई निजी क्षेत्रलाई पनि अवसर दिने दाबी गरिएको छ । दुई देशबीच विद्युत् व्यापार सम्झौता भए पनि हालसम्म अन्य कानुनी प्रावधान नहुँदा त्यसको उपयोगमा जटिलता रहेको राजधानीमा आयोजित एक कार्यक्रममा बताइयो । पछिल्लो निर्देशिकामा नेपालमा भारतबाहेक अन्य देशको सरकार वा कम्पनीको लगानीमा बनेका आयोजनाबाट उत्पादित बिजुली निर्यातबारे अन्योल कायम रहेको भन्दै कतिपय विद्युत् उत्पादकहरूले गुनासो गरे पनि भारतको भनाइ बेग्लै छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग विद्युत् व्यापारका लागि ल्याएको निर्देशिकाले खासगरी सरकारी स्वामित्व भएका कम्पनीमार्फत हुने विद्युत् व्यापारलाई सहज बनाएको छिमेकी भारतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रायका अनुसार यस व्यापारबाट नेपालमा बिजुली उत्पादन गरिरहेका कुनै पनि कम्पनी वा निकायलाई भारतमा विद्युत् बेच्नबाट वञ्चित गरिएको छैन । सञ्चारमाध्यम वा अन्य पक्षले जहिल्यै समस्या मात्र कोट्याएर वातावरण बिथोल्नुभन्दा यो सम्पूर्ण प्रक्रियालाई सहज बनाउनेतर्फ काम गर्नुपर्ने राजदूत रायको धारणा छ ।

यसैक्रममा ५ डिसेम्बर २०१६ मा भारत सरकारले जारी गरेको सीमापार बिजुली व्यापारसम्बन्धी निर्देशिका सम्बन्धमा ऊर्जा मन्त्रालयले ऊर्जा प्रणालीका सदस्यको रूपमा केन्द्रीय विद्युत् प्राधिकरणलाई प्रक्रियाको अनुमोदन र सीमापार बिजुली प्रसारण कार्य एवम् बिजुली व्यापारका लागि प्राधिकार प्रदान गरेको छ । प्राधिकार प्राप्त निकायले गर्नुपर्ने कार्यमा छिमेकी देशहरूमा सीमापार बिजुली व्यापारका लागि तत्सम्बन्धी निकायसँग समन्वय गर्ने, सीमापार प्रसारण लाइनहरूको योजना, अनुगमन, समन्वय गरी केन्द्रीय विद्युत् प्राधिकरण र केन्द्रीय प्रसारण उपयोगितासम्बन्धी निकायलाई परामर्श दिने, ग्रिड सुरक्षा एवम् सञ्चालनमा तत्सम्बन्धी निकायलाई परामर्श दिने, भारतमा बचत भएको विद्युत् क्षमताको परीक्षण तथा प्रस्टीकरण गरी निर्यातका लागि सुझाव दिने, सीमापार व्यापारका लागि अनुमोदनका आधारमा सहभागी गराउने र समयसमयमा सीमापार व्यापारका लागि भारतको ऊर्जा मन्त्रालयबाट सिफारिस लिनेलगायत कार्य गर्ने–गराउने रहेको बताइएको छ ।

नेपाल–भारतबीच रेमिट्यान्स सेवा विस्तार
भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रमार्फत रेमिट्यान्स सेवा दिँदै आएको अक्सिजन इन्डिया र नेपालमा ख्यातिप्राप्त आईएमईबीच रेमिट्यान्स सेवा सुरु भएको छ । नेपाल र भारतबीचको रेमिट्यान्सलाई संस्थागत र औपचारिक बनाउने उद्देश्यले सुरु गरिएको यस सेवाबारे जानकारी दिँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल फाइनान्सियल सेवा प्रदान गर्दै आएको अक्सिजन इन्डियासँगको सहकार्यले भारतबाट औपचारिक रूपमा रकम ल्याउन सहज हुने बताए । भारतमा परिश्रम गरेर कमाएको रकम सहज रूपमा नेपाल भिœयाउन सकिने उनको दाबी थियो । कार्यक्रममा अक्सिजनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रमोद सक्सेनाले आईएमईसँगको व्यावसायिक साझेदारी कोसेढुङ्गा भएको उल्लेख गर्दै यो सेवाले भारतमा बस्दै आएका लाखौँ नेपालीलाई सहज रेमिट्यान्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।