शिक्षामन्त्रीले गरे बालहठ

शिक्षामन्त्रीले गरे बालहठ


dr-poudel

स्वदेशमा मात्र होइन, विदेशमा समेत गुणस्तरीय शिक्षाका लागि ख्याति कमाएको सुन्दर पर्यटकीय नगर धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालय क्षुद्र राजनीतिक स्वार्थले गर्दा उपकुलपतिविहीनझैँ हुन पुगेको छ । डा. बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. सुरेशराज शर्मालाई पूर्वाधारबिनाको मेडिकल कलेजलाई सम्बन्धन दिन कुलपतिको हैसियतले चर्को दबाब दिएपछि शर्माले दिक्क भएर राजीनामा दिएका थिए । किनकि डा. शर्मा काठमाडौं विश्वसवद्यालयका संस्थापक भई पाँच कार्यकाल उपकुलपतिको हैसियतले कुशल नेतृत्व गरी आजको अवस्थामा पु¥याएकोले त्यहाँ (विश्वविद्यालय) राजनीतिक भागबन्डाको स्थिति उत्पन्न हुन सकेको थिएन । काठमाडौं विश्वविद्यालयका निवर्तमान उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठको पदावधि समाप्त भएपछि पदेन सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलले नयाँ उपकुलपति चयनका लागि सर्च कमिटी गठन गरेकोमा पूर्वउपकुलपति डा. शर्मा, काठमाडौं विश्वविद्यालय ट्रस्ट कमिटीका अध्यक्ष पूर्वसभामुख दमननाथ ढुङ्गानाले सबै दृष्टिकोणले हालै निवर्तमान भएका डा. श्रेष्ठलाई उपकुलपति पदमा निरन्तरता दिन जोडदार सिफारिस गर्दासमेत शिक्षामन्त्री पौडेलले अनुभवहीन व्यक्तिलाई उपकुलपतिजस्तो गरिमामय पदमा नियुक्त गर्न बालहठ गरेका कारण सर्वत्र यसको विरोध भइरहेको छ ।

निवर्तमान उपकुलपति डा. श्रेष्ठलाई उपकुलपतिको जागिर चाहिने अवस्था देखिँदैन । अष्ट्रियाको नामुद मुरालबर्ग विश्वविद्यालयबाट एमडीजस्तो उत्कृष्ट शिक्षा हासिल गरी सुखमय जीवन व्यतीत गरिरहेका श्रेष्ठ आफ्ना दाजु बेलप्रसाद श्रेष्ठ (पूर्वमेयर धुलिखेल नपा) को विशेष आग्रहमा नेपाल फर्केका थिए । त्यसैले उनी आफ्नो पद जोगाउन कुनै पनि राजनीतिक दलको आशीर्वाद खोज्दै पनि हिँडेनन् । सरकारी बजेटबिना धुलिखेल सामुदायिक अस्पतालको झन्डै ५०० बेडको भव्य अत्याधुनिक भवनको अवलोकन गर्ने जोकोही नेपालीले गर्व गर्न सक्छन् । उक्त अस्पतालमा अर्थको अभावमा कुनै पनि व्यक्तिले आफ्नो इहलीला त्याग्नुपर्दैैन । साँच्चिकै निर्धन व्यक्ति छ भने बिनाभेदभाव निःशुल्क औषधोपचार गरिन्छ । माथिल्लो तहदेखि स्विपरसम्मका लागि कार्यालयमा एउटै खाना पाक्छ । बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म बहिरङ्ग विभागमा विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छन् ।

डा. शर्मा (पूर्वउपकुलपति काठमाडौं विश्वविद्यालय) ले चार वर्षअघि राजनीतिक दबाबमा नझुकी हठात् राजीनामा दिएपछि धेरैले काठमाडौं विश्वविद्यालयको भविष्यप्रति चिन्ता व्यक्त गरेका थिए । तर, डा. श्रेष्ठ र उनको टिमले ०७२ मा भूकम्प गएको एक घन्टाभित्र अधिकतम जनशक्ति परिचालन गरेर उल्लेखनीय स्वास्थ्य सुविधा पु¥याएको सर्वविदितै छ । केही दिन पहिले काठमाडौं विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा कुलपति प्रधानमन्त्री प्रचण्ड, सहकुलपति शिक्षामन्त्री र अन्य विशिष्ट व्यक्तिहरूसमक्ष डा. श्रेष्ठले सम्बोधन गर्दै भनेका थिए, ‘प्रत्येक विद्यार्थीको मस्तिष्कमा सार्थक सपनाहरू भरिदिने र असम्भव देखिएका कामलाई सम्भव बनाउन सहयोग गर्ने ठाउँ नै कल्पना गरेको विश्वविद्यालय हो ।’