पीए बनेका भाइछोराका काम नगद सङ्ग्रहमा सहजकर्ता !

पीए बनेका भाइछोराका काम नगद सङ्ग्रहमा सहजकर्ता !


rahul-mahara-prakash-dahal

प्रधानमन्त्री प्रचण्डसहित माओवादीका तर्फबाट महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरूले आफ्नो सचिवालयमा आफ्नै छोरा या भाइलाई चयन गर्नुको रहस्य खुल्दै जान थालेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उपप्रधानमन्त्री कृष्णबहादुर महराले छोरा राहुललाई आफ्नो सचिवालयमा राखेका छन् । राहुलको काम भन्सार प्रमुखमा क–कसलाई चयन गर्ने भन्ने कुराको विवरण तयार गरी आफ्ना पिता मन्त्रीलाई जानकारी गराउनु रहेको छ ।
भन्सार प्रमुखको रूपमा कार्यरत व्यक्तिले राहुलको सर्त स्वीकार नगरे काज सरुवा गरेर भए पनि नगद चढाउने व्यक्तिलाई भन्सार प्रमुख बनाइदिने गरेका छन् । राहुलको माग पूरा गर्न अस्वीकार गर्ने रसुवा भन्सार प्रमुख केदार पनेरूलाई काज सरुवा गरी निजको स्थानमा नगद कबुल गर्ने गोपाल कोइरालालाई लगिएको छ । जब कि केदार पनेरूले रसुवागढी भन्सारमा रही रामै्र काम गरेका थिए ।

अब विराटनगर भन्सार, वीरगन्ज भन्सार, राजस्व अनुसन्धान विभाग र विभागअन्तर्गतका विभिन्न कार्यालय प्रमुखहरूमध्ये राहुलको माग पूरा गर्न नसक्नेहरूलाई सरुवा गर्ने तयारी भइरहेको छ । तर, ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चाहिँ किन आफ्ना छोरालाई सचिवालयमा राखेका हुन् बुझ्न सकिएको छैन । प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहाल प्रधानमन्त्रीको सचिवालयमा बसेर के गर्दै छन् भन्नेबारेमा अनेक चर्चा–परिचर्चा भइरहेका छन् । प्रधानमन्त्रीको तहबाट निर्णय लिनुपर्ने ठूलाठूला ‘डिल’ प्रकाशले गर्ने गरेको बताइन्छ । त्यस्तै प्रचण्डका भाइ नारायण दाहाल प्रशासनिक सल्लाहकारका रूपमा कार्यरत छन् । नारायणको मुख्य काम पनि ‘डिलिङ’ नै भएको बताइन्छ ।