धुर्मुस–सुन्तलीको सपना र मन्त्रीको प्रतिबद्धता

धुर्मुस–सुन्तलीको सपना र मन्त्रीको प्रतिबद्धता


22-dhurmus

सिन्धुपाल्चोकको गिरानचौरस्थित तामाङ समुदायको बस्तीमा व्यक्तिगत प्रयासमा नमुना एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरेर प्रशंसा बटुलेका लोकप्रिय कलाकार सीताराम कट्टेल उर्फ धुर्मुसले हालै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई मन्त्रीकै कार्यकक्षमा भेट गरे । मन्त्री भेट्नुको उनको तात्पर्य थियो– धुर्मुस–सुन्तली फाउन्डेसन’मार्फत मुलुकका प्रस्तावित सातै प्रदेशमा एकीकृत नमुना बस्ती निर्माण गर्ने आफ्नो उद्देश्यबारे जानकारी गराउँदै त्यसका लागि सरकारबाट हुन सक्ने सहयोगको निम्ति अनुरोध गर्ने । मन्त्रीसँग जतिबेला पनि भेट हुने अवसर पनि नमिल्ने र मिले पनि भेट गरिरहनु स्वाभाविक नहुने ठानेर होला कलाकार धुर्मुसले सोही भेटको अवसरमा अन्य दुई चाहना पनि मन्त्रीसमक्ष प्रकट गरे । मौकाको सदुपयोग गर्दै उनले गिरानचौरमा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’सम्म पुग्ने सडक कालोपत्रे गर्न सरकारसँग सहयोग मागे भने वर्षेनी आगलागीबाट पीडित बन्दै आएका महोत्तरीको मुसहर बस्तीलगायत अन्य सीमान्तकृत र लोपोन्मुख समुदायमा समेत एकीकृत नमुना बस्ती निर्माण गर्ने फाउन्डेसनको योजना रहेको पनि जानकारी गराए ।

अर्बौं बजेट ओगटेर पनि भूकम्पपछि गठित पुनर्निर्माण प्राधिकरण निकम्मा साबित भइरहेको र धुर्मुस–सुन्तली कलाकार दम्पतीले व्यक्तिगत प्रयासमै उदाहरणीय काम फत्ते गरी देखाएबाट सर्वत्र प्रशंसा बटुल्न सफल सीतारामले कुनै व्यक्तिगत लाभका लागि सरकारसँग गुहार मागिरहेका थिएनन् । त्यसमाथि सम्बन्धित मन्त्री माओवादी पार्टीका नेता भए पनि भलाद्मी स्वभावका परे । उनले धुर्मुसको प्रस्ताव तत्काल प्रशंसासहित स्वीकार गरे भने मन्त्रालयको तर्फबाट पूरा सहयोग रहने वचनसमेत दिए । पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रूपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत बस्ती निर्माण गरी उनीहरूको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने मन्त्रीले बताए । एकीकृत बस्ती निर्माणका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको अभिव्यक्तिका साथ मन्त्री पाण्डेले थप सुझावसमेत दिए, ‘जनता आवास कार्यक्रमसँगै जोडेर धुर्मुस–सुन्तली फाउन्डेसनले एकीकृत बस्तीसमेत निर्माण गरोस् ।’ एकीकृत बस्ती निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गरी आयआर्जनको विषयलाई पनि सँगै जोड्नुपर्ने मन्त्रीको सुझाव थियो ।

धुर्मुसको कामबाट प्रभावित मन्त्रीले गिरानचौरको एकीकृत नमुना बस्तीसम्म पुग्ने सडक तत्काल कालोपत्र गरिने र सातवटा प्रदेशमा एकीकृत नमुना बस्ती निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई मन्त्रालयले सहयोग गर्ने तत्काल प्रतिबद्धता जनाए । यसबाट धुर्मुस त दङ्ग परे नै, धुर्मुस खुसी भएको देखेर मन्त्री स्वयम् पनि हर्षित भए ।

यसरी मन्त्रीबाट सहयोगको वचन पाएका धुर्मुसको योजना कतै बीचमा धर्मराउने त होइन ? भन्ने आशङ्का भने गरेका छन् कतिपय कलाकर्मीले, किनकि सरकारबाट पाएको आश्वासन विगतमा फगत आश्वासनमै सीमित हुन पुगेका अनेक संस्मरण नेपाली कलाकर्मीले सङ्गालेका छन् । धुर्मुसको हकमा यस्तो नहोस्, मन्त्रीको प्रतिबद्धता यथार्थमा बदलियोस् र धुर्मुस–सुन्तलीका सपना चाँडै साकार भएको देख्न पाइयोस् ।