जिरो स्थिति बनाउन प्रचण्ड जाल

जिरो स्थिति बनाउन प्रचण्ड जाल


-जयप्रकाश
आफ्नो नेतृत्वमा सरकार गठन हुनसक्ने सम्भावना टाढिँदै गएपछि माओवादी अध्यक्ष प्रचण्डले नयाँ रणनीतिक चाल सुरु गर्नुभएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमालेको प्रजातान्त्रिक धार र आफ्नै पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको हातमा देशको सत्ता नजाओस् भन्नेमा विशेष रूपले सचेत प्रचण्ड आफू प्रधानमन्त्री बन्न नसके झलनाथ खनाललाई समर्थन गर्ने पक्षमा दृढतापूर्वक उभिनुभएको छ । र, सोही सोचअनुरूपको योजनाबद्ध पहल पनि प्रचण्डले सुरु गरिसक्नुभएको छ । उता झलनाथ खनालचाहिँ प्रधानमन्त्री बन्ने अवसर पुनः प्राप्त हुन लागेकोमा दङ्ग रहनुभएको बताइन्छ । पार्टीको केन्द्रीय तहका कुनै पनि स्तरको बैठक राख्न आनाकानी गर्दै आउनुभएका खनाल साउन २६ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्न तयार हुनुका पछाडि प्रचण्डको नयाँ चालबाजीले काम गरेको बुझिन्छ । प्रचण्ड-झलनाथको गुप्त योजनाअनुसार बोलाइएको एमाले केन्द्रीय कमिटीको बैठकमा झलनाथ खनालले राष्ट्रिय सहमतिकै सरकारका पक्षमा दृढतापूर्वक उभिएर काङ्ग्रेस नेतृत्वमा सरकार गठनलाई रोक लगाउनुपर्नेछ । एमाले केन्द्रीय कमिटीको बैठक राखिएको घोषणा हुनेबित्तिकै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आफू उम्मेदवारी फिर्ता लिन तयार भएको बताउँदै रामचन्द्र पौडेललाई पनि उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुभएको छ । काङ्ग्रेस नेता पौडेलको नेतृत्वमा सरकार गठन हुनसक्ने सम्भावना बढेपछि प्रचण्डले नयाँ रणनीतिक कदम चाल्नुभएको हो र उहाँको रणनीतिमुताबिक परिस्थिति अघि बढ्यो भने माओवादी समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री बन्नुहुने निश्चितप्रायः छ । एमालेलाई राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति अडान लिन लगाउने र -सो अडान कायम रहेसम्म लोकतान्त्रिक गठबन्धनको सरकार बन्न सक्दैन) प्रधानमन्त्री पदका लागि दिइएको उम्मेदवारी फिर्ता लिने वातावरण बनाउने, उम्मेदवारी फिर्ता लिने र लिन लगाउने योजना सफल भएमा आफ्नोतर्फबाट पुनः झलननाथ खनाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने योजना प्रचण्डको रहेको छ । राष्ट्रिय सहमतिका लागि नयाँ परिस्थिति सिर्जना गर्ने भन्दै उम्मेदवारी फिर्ताका लागि रामचन्द्र पौडेल तथा नेपाली काङ्ग्रेसमाथि दबाब सिर्जना गर्नु प्रचण्डको अहिले मुख्य कर्म बनेको छ । उहाँ आफूचाहिँ उम्मेदवारी फिर्ता लिन मानसिक रूपले तम्तयार भइनै सक्नुभएको छ । उम्मेदवारी फिर्ता लिएपछि स्थिति ‘जिरो’मा आउनेछ, त्यसपछि प्रचण्ड प्रधानमन्त्रीमा झलनाथ खनाललाई प्रस्ताव गर्ने सोचमा हुनुहुन्छ । खनाललाई अघि सारेपछि या त सिङ्गै एमाले पार्टी र माओवादीबीच सत्तासमीकरण बन्ने स्थिति आउँछ या एमाले विभाजित भई खनाल पक्ष र माओवादीबीच नयाँ ढङ्गको समीकरण बन्ने स्थिति पैदा हुनेछ भन्ने विश्लेषण र विश्वास प्रचण्डको छ । स्थिति ‘जिरो’मा ल्याएर खनाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा एमाले विभाजन हुनसक्ने र त्यसरी एमाले विभाजित भएमा राजनीतिक रूपले माओवादीलाई नै लाभ पुग्ने विश्वास पनि प्रचण्डमा रहेको देखिन्छ ।
प्रचण्डले आफू उम्मेदवारी फिर्ता लिन तयार भएको बताउँदै काङ्ग्रेस नेता रामचन्द्र पौडेलसमक्ष उम्मेदवारी फिर्ता लिन गर्नुभएको प्रस्तावलाई अस्वीकार गरिएको छ । नेता पौडेल प्रचण्डको चालबाजीबारे स्पष्ट हुनुहुन्छ र उहाँले प्रचण्ड किन पछि हट्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरालाई राम्ररी बुझनुभएको छ । त्यसैले पौडेलले प्रचण्ड प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभएको बताइन्छ । पौडेलले शान्तिप्रक्रियामा माओवादी इमानदारीसाथ कार्यान्वयनको तहमा आएको अवस्थामा मात्रै आफू प्रचण्ड प्रस्तावमा सकारात्मक हुनसक्ने सङ्केत दिनुभएको छ । यसरी पौडेलले दृढअडान प्रस्तुत गर्नुभएपछि प्रचण्डको झेलनीति सङ्कटमा परेको छ । तथापि उम्मेदवारी फिर्ताका लागि माओवादीले दबाबपूर्ण स्थिति सिर्जना गर्न सक्ने सम्भावना भने अझै टरेको छैन । माओवादी केन्द्रीय समितिको यसै साता -साउन २६ गते) हुने बैठकले यससम्बन्धी ठोस नीति र कार्यक्रम बनाउने जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निर्वाचनका लागि भदौ २ गते निर्धारण गरिएको समय अगावै प्रचण्ड उम्मेदवारी फिर्ता लिएर ‘जिरो’ स्थिति सिर्जना गर्न चाहनुहुन्छ । पौडेलले उम्मेदवारी फिर्ता नलिएसम्म एमालेमा झलनाथ खनाललाई पुरानै अडानमा रहिरहन माओवादी नेतृत्वले ‘निर्देश’ गरेबमोजिम खनाल अझै केही दिन आफ्नो अडानमा कायम रहनुहुने बताइन्छ । ‘अडिएर मात्र बस तिमी प्रधानमन्त्री बन्छौ’ भन्ने प्रचण्डको निर्देशनलाई आत्मसात् गर्दै ‘चट्टानी निर्णय’मा अडिग खनाल बदलिनुभएन भने भदौ २ गते पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन सम्भव देखिँदैन । तर, एमालेभित्रको लोकतान्त्रिक धार प्रजातान्त्रिक गठबन्धनका पक्षमा दृढतापूर्वक उभिएको छ र आफ्नै पार्टीको अध्यक्षका कारण देश अनिर्णयको बन्दी बनेकोमा लज्जित रहेको पनि बताइन्छ । सहमतिको नभएर बहुमतीय गठबन्धनबाट भए पनि सरकार गठन हुनुपर्छ भन्ने पक्षमा एमाले केन्द्रीय कमिटीका अधिकांश नेता देखिएका छन् । त्यसैले यसपटक अध्यक्ष खनालमाथि निकै चर्को दबाब पर्नसक्ने सम्भावना छ । जुन दबाबलाई छल्न या छलेर भाग्नसक्ने अवस्थामा खनाल रहनुहुने देखिँदैन । माओवादीसँग जाने या प्रजातान्त्रिक गठबन्धनका पक्षमा उभिने एउटा निर्णय गर्नैपर्ने अवस्थामा खनाल पुग्नुपर्ने ठानिएको छ । एमालेकै एकथरी नेताले चाहिँ आगामी ६ महिना रामचन्द्र पौडेल र त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री बन्ने सम्झौता गराएर भए पनि देशलाई निकास दिनुपर्छ भन्ने धारणा बनाएको पाइएको छ । छ महिनापछि खनाललाई प्रधानमन्त्री बनाउन पौडेल राजी भएमा खनाल र पौडेलबीच सम्झौता हुनसक्ने र त्यसले देशलाई अनिर्णयको विद्यमान अवस्थाबाट मुक्त गर्ने आशा गर्न सकिन्छ । पौडेलको जोड जसरी भए पनि माओवादीलाई नागरिक पार्टीमा रूपान्तरण गर्ने भन्नेमा छ भने खनालले राष्ट्रिय सहमतिको सरकार गठनलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । खनाल माओवादी चक्रव्युहमा फस्नुभएन र काङ्ग्रेस नेतृत्वसँग समझदारी बन्न सक्यो भने माओवादीमाथि दबाबको एउटा नयाँ परिस्थिति सिर्जना हुने र त्यसले माओवादीलाई नागरिक पार्टीमा रूपान्तरित हुन बाध्य तुल्याउने देखिन्छ । त्यसो नभएर चिनियाँ आड र माओवादी भरोसामा खनाल अल्झिरहनुभयो भने देशले निकास नपाउने, बरु मुलुक नयाँ ढङ्गले द्वन्द्वमा धकेलिने र सरकारको नेतृत्व गर्नबाट खनाल लामो समयका निम्ति वञ्चित हुने निश्चित मानिन्छ ।