‘फिल्मी गरिमा’ जोगाउने कि भविष्य ?

‘फिल्मी गरिमा’ जोगाउने कि भविष्य ?


garima-panta

बजारमा विभिन्न नामको चाउचाउको बिगबिगी भएको बेला ‘आहा’ नामक चाउचाउको विज्ञापनमा आफ्नो शालीन अनुहार देखाएर अभिनयको यात्र आरम्भ गरेकी गरिमा पन्त यतिबेला बेल्जियममा रेस्टुरेन्ट चलाएर बसेकी छिन् । विभिन्न टेलिसिरियल र विज्ञापनमा मोडलिङका अलावा दुई दर्जनभन्दा बढी ठूलो पर्दाका चलचित्रमा काम गरेकी गरिमाले अभिनय गरेको ‘झोला’ निकै चर्चामा रह्यो । वास्तवमा झोला चलचित्रले भन्दा बढी चर्चा र प्रशंसा गरिमाले नै पाइन् । यसरी फिल्मी करिअर उत्कर्षतिर लम्किँदै गर्दा गरिमा भने एक्कासि नेपाली फिल्मी संसारबाट एकप्रकारले पलायन नै हुन पुगेकी छिन् ।
गरिमाजस्ती प्रतिभाशाली अभिनेत्रीका लागि कामको खाँचो पक्कै थिएन र उनको कामको उचित कदर पनि भएकै थियो । झोला फिल्ममा गरेको अभिनयका लागि त उनले सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड नै हात पारेकी थिइन् । कला क्षेत्रमा लागेर छोटै समयमा गरिमाले जति चर्चा या नाम कमाइन्, वर्षौं सङ्घर्ष गर्दा पनि त्यति स्थान हासिल गर्न नसकेका अनगिन्ती कलाकर्मी यहाँ छन् । यस्तो अवस्थामा सहजै किसिमले गरिमाले फिल्म क्षेत्रलाई किन र कसरी ‘बाई बाई’ गरिन् त ? यो प्रश्नलाई हलुका रूपले लिन मिल्दैन ।

हुन त बेल्जियममा व्यवसाय गरिरहेका नेपाली युवकसँग बिहे गरेर गरिमाले घरजम बसाएकी हुन् । यसैकारण उनले नेपालमा चम्किरहेको आफ्नो फिल्मी यात्रामा विराम लगाएकी होलिन् भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर, यदि नेपाली फिल्म क्षेत्रमा भविष्य छ भन्ने लागेको भए गरिमाले यसरी फिल्मी करिअरलाई चटक्कै माया मारेर बेल्जियममा व्यापार गर्ने सोच सायदै बनाउने थिइन् । फिल्मको चारदिने चमकदमकमा भुलियो भने भविष्य नै चौपट हुन्छ भन्ने ब्रह्मज्ञान खुलेकैले गरिमाले पलायनको बाटो रोजेकी हुन् भन्ने धेरैको अनुमान छ । नेपालमा एउटा कलाकारको रूपमा जति नै प्रशंसित भए पनि आर्थिक एवम् पारिवारिक भविष्यको कुनै टुङ्गो नहुने र विवेक पु¥याएर बेलैमा उचित निर्णय लिन नजाने सिङ्गै जिन्दगी डामाडोल हुनसक्ने चेत गरिमाभित्र पलाएकै हो । विगतमा पनि अभिनयमा जमेका कलाकारहरूले विदेश पलायनको बाटो अवलम्बन गरेका थुप्रै उदाहरण छन् । जे भए पनि बेलैमा बिहे गरी युरोप पलायनको बाटो रोजेर गरिमाले आफ्नो भविष्य सुरक्षित गरेकी छिन्, फिल्मी गरिमाको सवाल अब भाड मे जाए…!