शक्तिशालीहरूले नबुझेका केही कुरा

शक्तिशालीहरूले नबुझेका केही कुरा


Birendramani-Paudel

– वीरेन्द्रमणि पौडेल

प्राणी जगत्मा जो–जो शक्तिशाली छन् उनीहरूको सङ्गठन हुँदैन, भए पनि सानो हुन्छ । जो कमजोर र निमुखा छन् उनीहरूको सङ्गठन ठूलो हुन्छ । बाघ र सिंहहरू प्राणी जगत्मा शक्तिशाली मानिन्छन् र यिनीहरूको सङ्गठन हुँदैन, भए पनि औधी सानो हुन्छ । मृगहरू कमजोर छन् । त्यसैले यिनीहरूको सङ्गठनमा सङ्ख्या ज्यादा हुन्छ । कमिलाहरू कमजोर छन्, सङ्गठनमा सङ्ख्या ज्यादा हुन्छ । मानिसको चर्चा गर्दा विभिन्न देशका राष्ट्रपति कार्यकारी अधिकारसहितका हुन् वा रहितका शक्तिशाली मानिन्छन् र त्यसैले तिनीहरूको सङ्गठन बनाइँदैन । आजसम्मको विश्वमा राष्ट्रपतिहरूको सङ्गठन छैन । भूतपूर्व राष्ट्रपतिहरूको पनि सङ्गठन छैन । प्रधानमन्त्रीहरूको पनि सङ्गठन छैन । नहुनुको कारण अरू होइन, शक्तिशाली भएर नै हो । कमजोरहरू सङ्गठनमार्फत शक्तिशाली हुन्छन् भने शक्तिशालीहरूलाई शक्तिशाली भएकै कारण सङ्गठन निर्माणको जरुरत पर्दैन, त्यसैले बन्दैन, बनाइँदैन । शक्तिशालीहरू सङ्गठनबिना पनि निर्धक्क बाँच्छन्, तर कमजोरलाई बाँच्नका लागि, सजिलोसँग बाँच्नका लागि सङ्गठन चाहिन्छ । कमजोर जो सङ्गठनबाहिर छ उसलाई शक्तिशालीहरूले मौका मिल्नेबित्तिकै घाँटी अँठ्याइहाल्छन् । यो मानिसमा मात्रै होइन, जीवजन्तुमा पनि उस्तै अवस्था छ ।
जङ्गलमा जङ्गली भैंसीहरूको सङ्ख्या वा सङ्गठन ठूलो हुन्छ । बाघको सङ्गठन सानो । भैंसी कमजोर छ । बाघ बलियो । जब कुनै भैंसी आफ्नो ठूलो सदस्य सङ्ख्या रहेको सङ्गठनबाट एक्लिन्छ बाघले त्यही मौकामा भैंसीलाई आक्रमण गर्छ र घाँटीमा झुन्डिएर रगत पिउँछ । भैसीलाई दुई दिन ज्यादा बाँच्ने मौकाबाट वञ्चित गरिदिन्छ । राजनीतिमा पनि कुरा त्यही हो । मानिसहरू राजनीतिक सङ्गठनमा आबद्ध भएका हुन्छन् । दलहरूको आकार सानो ठूलो हुन्छ । तर, राजनीतिक सङ्गठनमा आबद्ध भएकाहरूले आफूलाई ज्यादा शक्तिशाली र सुरक्षित ठानिरहेका हुन्छन् । यही ठनाइको परिणाम के हुन्छ भने जो व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध छैन भन्ने जानिन्छ त्यसपछि त्यो एक्लो मानिएको व्यक्तिलाई मिलाइमिलाई निचोर्ने, पछार्ने, हेप्ने, ङ्याक्ने गरिन्छ ।

यो नियमले राजनीतिक दलहरूमा मात्रै होइन अन्य सङ्घ–सङ्गठनहरूमा पनि काम गरिरहेको देखिन्छ । उदाहरणका लागि स्वास्थ्यकर्मीहरू कुनै न कुनै विचारका सङ्गठनहरूमा आबद्ध हुनुपर्छ । नेपालको हकमा यदि कुनै सङ्गठनमा आबद्ध हुन कुनै चिकित्सकले आनाकानी ग¥यो भने उसलाई मर्दा–पर्दा सहयोग गर्ने व्यक्ति हुँदैन, त्यसैले कुनै चिकित्सक आफ्नो पेसामा जतिसुकै इमानदार र सक्षम किन नहोस् ऊ लतारिएर कुनै सङ्गठनको सदस्यता लिन जानैपर्छ । कर्मचारीको अवस्था त्यस्तै छ । हिजोआज हरेक पेसामा सङ्गठन निर्माण गर्ने र शक्तिशाली बनेर जिउने लालसा बढेर गएको छ । यी त भए मानिस र अन्य जीव–जीवात्माहरूको सङ्गठन बन्ने, बनाइने र शक्तिशाली बन्ने कुरा । कमजोरलाई ङ्याक्ने, हेप्ने, पछार्ने र गिज्याउने कुरा । गज्जब र अनौठो लाग्ने विषय त यो पनि देखियो कि देश–देशका बीच हुने द्वन्द्व, झैझगडा र लडाइँले पनि कमजोर र गरिब देशहरूलाई च्याप्ने र च्यापिने स्थिति सिर्जना गर्दोरहेछ । शक्तिशालीहरू गल्ती गर्ने, तर सजायचाहिँ कमजोरले भोग्नुपर्ने । चर्चा छिमेकी मित्र मुलुक भारत र अर्को मित्र देश पाकिस्तानको गर्दा विषयवस्तुले वजन प्राप्त गर्छ ।

दुनियाँमा पाकिस्तान भन्ने देश जन्मिएको थिएन । सन् १९४७ मा भारत अङ्ग्रेजको पञ्जाबाट मुक्त भएपछि भारतका उपल्ला दुई नेता महात्मा गान्धी र मोहम्मद अली जिन्नालाई अङ्ग्रेजहरूले कुन्नि के खालको शब्दले प्रभाव पारे जसको परिणाम भारत टुक्रियो र पाकिस्तान जन्मियो । पाकिस्तानको सर्वोच्च नेता मोहम्मद अली जिन्ना भए । यता भारतमा महात्मा गान्धी सर्वोच्च नेता भए । भारत टुक्रिएर पाकिस्तान जन्मिनुमा गल्ती, कमजोरी वा ठीक–बेठीक जे भए पनि जिम्मेवार भारतीय र पाकिस्तानी नै थिए । नेपाल र अन्य छिमेकी देशहरू त दर्शक मात्रै थिए । समयको अन्तरालसँगै राजतन्त्र रहेको कस्मिरका राजा हरिसिंहले आफ्नो देश जोगाउन सकेनन् । परिणाम कस्मिर एकढङ्गले बेवारिसे हुन गयो । यही मौकामा कस्मिरको केही भाग पाकिस्तानले र केही भाग भारतले चच्र्यो । भारत र पाकिस्तान दुवैको एउटै चाहना देखिन्छ । पूरा कस्मिर आफूतिर गाभ्ने चाहना । दुवैको एउटै चाहना पूरा गर्ने उद्देश्यले दुई देश पाकिस्तान र भारतबीच समयसमयमा लडाइँ हुने गरेको छ । सिमानामा किचकिच गर्ने, अर्को देशतिर फर्किएर धारेहात लाउने र फाट्टफुट्ट गोली पड्काउने र अर्को देशको एक–दुईजना, कहिलेकाहीँ त्योभन्दा केही ज्यादा सङ्ख्यामा सैनिक वा गैरसैनिक मानिस मार्ने क्रमले निरन्तरता पाएको छ । यी दुई देशबीच कहिलेकाहीँ त यस्तो पनि हुन्छ कि हार्दिकता र शान्तिका प्रतीक मानिने कलाकारलाई समेत एक–अर्को देशबाट निकाल्ने काम हुन्छ । कुल मिलाएर यी दुई मुलुकबीच सम्बन्ध राम्रो छैन ।

सम्बन्ध नराम्रो हुनुमा दोषी को, भारत दोषी वा पाकिस्तान ? वा घटी–बढी जे भए पनि दुवै दोषी ? भारत र पाकिस्तानबीच हार्दिकता नहुनुमा नेपालको के दोष वा भूमिका ? कुनै दोष छैन वा भूमिका छैन, तर सीधा वा घुमाउरो पाराले दोषी नेपाल हो जस्तो गरिन्छ र सजायको भागीदार बनाइन्छ । भारत र पाकिस्तानबीच सम्बन्ध नराम्रो हुँदा नेपालले कसरी सजाय पाएको छ– बिनाचर्चा बुझ्न कठिन हुन्छ । अनेक–अनेक कारणले भारत र पाकिस्तानबीच मनमुनाव छ । यस्तो अवस्थामा हाम्रो सम्बन्ध कुनै एक देशसँग हुँदा अर्को देशलाई टाउकोदुखाइ नहुनुपर्ने हो, तर टाउकोदुखाइको विषय बनाइन्छ र नेपाललाई सजाय दिइन्छ । एकपटक यस्तो भयो । नेपालमा बीपी कोइराला प्रधानमन्त्री थिए । तिनले पाकिस्तानसँग दौत्यसम्बन्ध कायम गरे । भारतले आफ्नो विरोधी वा दुस्मन ठानेको मुलुकसँग नेपालले दौत्यसम्बन्ध कायम गर्दा भारतले नेपाललाई राम्रो मानेन र बीपी कोइरालालाई सहयोग गर्न चाहेन । यही कारण नेपालमा राजनीतिक अस्तिरता निम्तियो । कूटनीतिज्ञ एवम् भूतपूर्वमन्त्री रमेशनाथ पाण्डेको ‘राजनीति र कूटनीति’ नामको पुस्तकमा यही आशय व्यक्त गरिएको छ । यो भनाइको आजसम्म कसैले खण्डन गरेका छैनन् । नेपालमा अरूको कारणले राजनीतिक अस्तिरता सिर्जना हुनु यो देशलाई सजाय हो । कमजोर ठानिएको र मानिएको मुलुक नेपालले केही गल्ती नगर्दा पनि सजाय दिइएको हो । शक्तिशालीहरू गल्ती गर्ने र कमजोरले सजाय पाउने भनाइ सार्थक भएको यो अवस्था हो ।

नेपाल र भारतबीच खुला सिमाना छ । सिमाना बन्द गर्न नेपाल र भारत दुवैलाई कठिनाइ छ । दुई सिमानाका भारतीय र नेपालीबीच रोटीबेटीको सम्बन्ध मात्रै होइन, थुप्रै नेपाली भारतमा काम गर्छन् र भारतीय पनि नेपालमा आएर काम गर्छन्, व्यापार–व्यवसायमा समेत आबद्ध छन् । तर, भारतका केही राजनीतिज्ञहरू कहिलेकाहीँ के पनि भन्न भ्याउँछन् भने नेपाल र भारतबीच खुला सिमाना भएका कारण पाकिस्तानी सजिलै नेपाल जान्छन् र खुला सिमानाको फाइदा उठाएर भारत छिर्छन् अनि आतङ्क मच्चाउँछन् । यसरी घुमाइफिराई दोष नेपालको भनिन्छ । तर, शक्तिशाली हाम्रो छिमेकी भारत के कुरा बुझ्दैन भने खुला सिमाना हाम्रो देश नेपालको कारणले मात्रै भएको होइन, यसमा भारतको पनि केही बाध्यता छन् । त्यसमाथि पाकिस्तानी नेपाल हुँदै भारत छिरेर भारतमा गोलमाल गरेका हुन् भन्ने प्रमाण पनि छैन । त्यसकारण यहाँनेर पनि शक्तिशाली भएका कारण ठूलो मुलुकले सानो मुलुकमाथि दोष थोपर्ने काम बेलाबखत गर्छ । छिमेकीलाई यसो गर्न सुहाउने कुरा थिएन । छिमेकीको नाताले नेपालले सधैँभरि भारतलाई सम्मान दिएको छ । सबैखाले हैसियतअनुसार सहयोग पनि गरेको छ ।

अर्को छिमेकी चीनसँग सरोकार राख्ने विषय पनि छ । तिब्बत र चीनको मामलामा नेपाल परै बसेको छ । तिब्बतीयन भारतलगायत विभिन्न मुलुकमा शरणार्थीको रूपमा छरिएर बसेका छन् । कहिलेकाहीँ तिब्बतीयन नेपालमा आएर ‘स्वतन्त्र तिब्बत’को नारा लगाउँछन् । यसो गर्दा चीन सरकार नेपालसँग चित्त दुखाउँछ र भन्छ, ‘तिब्बतीयनलाई नाराबाजी गर्न नदेऊ ।’ शक्तिशाली छिमेकीको अनुरोध नेपालले मान्नुपर्छ र त्यो खालको गतिविधिमा रोक लगाउनुपर्छ । यहाँनेर पनि कुरा उही हो । चीन र तिब्बतको विषयमा नेपाल बीचमा पर्न चाहन्न, तर बेलाबखत पारिन्छ र घुमाउरो सजाय दिइन्छ । यसरी नै अमेरिका र भियतनाम, त्यस्तै अमेरिका र क्युवाका बीच पनि हार्दिकतापूर्ण सम्बन्ध छैन । तर, नेपालजस्तै कमजोर र गरिब देशहरूलाई ती देशबीचको तिक्ततापूर्ण सम्बन्धका कारण चेपुवामा पारेर दुःख दिइन्छ । सजाय दिइन्छ । यो खालको क्रियाकलाप नाजायज मात्रै होइन, विश्व मानवअधिकारका दृष्टिकोणले पनि भत्र्सनालायक छ । आजसम्म विश्वमा यही परम्परा कायम छ । यो परम्पराको अन्त्य हुनुपर्छ । जबसम्म यो चलन विश्वमानवबीच रहिरहन्छ तबसम्म विश्वमा शान्ति र स्थिरता सम्भव छैन । सकारात्मक निष्कर्षका लागि कमजोरहरू होइन, बलिया र शक्तिशालीहरू नै बदलिनुपर्छ । कमजोरहरूलाई बेफ्वाँकमा सजाय दिने काम त्यसकारण पनि रोकिनुपर्छ ।