
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
यौटा विचार अहिले मनभित्र आयो
यो सृष्टिको विषय जान्न भनी सुझायो
कस्ले ग¥यो, किन ग¥यो ? रचना रचायो
यो प्रश्नले मन तथा मगजै घुमायो ।।१।।
भन्छन् कुनै ‘जगत ईश्वरले बनायो
यो जीवचक्र दुनियाँ उसले चलाया
बाहेक छैन उसको जगतै विकल्प
हुन् ईश नै हृदयमा रहने अनन्त’ ।।२।।
भन्छन् कुनै ‘प्रकृतिमा भगवान् हुँदैन
संसार चल्दछ स्वयम् अनभिज्ञ हैन
छन् सूर्य, चन्द्र, पृथिवी, ग्रह–गोल, तारा
यो सृष्टि सम्भव भयो त्यसबाट सारा’ ।।३।।
छन् ईश्वरै भनुँ भने पनि देखिँदैन
छैनन् भनौँ कलमले त्यति लेखिँदैन
पूजा र पाठ दिनहुँ पनि गर्छ मान्छे
दुःखी हुँदा शरणमा किन पर्छ मान्छे ? ।।४।।
छन् मूर्ति मात्र सब मन्दिरभित्र हेर्दा
होलान् सजीव कसरी बिनुसास फेर्दा ?
लिन्छन् प्रसाद तिनले फल मिष्ठ–मेवा ?
गर्छन् मनुष्य गणको कुन अर्थ सेवा ? ।।५।।
छैनन् र छन् बहुत चल्छ खुबै वितर्क
छैन प्रमाण दिन नै सकिने यथार्थ
दोधारमा परिरहँे नबुझेर यस्तो
भो कल्पना नियतिको परिणामजस्तो ।।६।।
छन् बुद्धका वचन भित्र ममा गडेका
मैत्री र शान्ति करुणा बीचमा अडेका
सिद्धान्त व्यास ऋषिको उपकार धर्म
त्यै सत्य लाग्छ गरौँ बरु योग्य कर्म ।।७।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया