पासवानले दिए ‘नेपाल बन्द’को धम्की

पासवानले दिए ‘नेपाल बन्द’को धम्की


paswan-photo

बेलाबेला अनौठा व्यवहार प्रदर्शन गरेर चर्चामा आउने कथित बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । साथै उनले आगामी चैत १५ गते नेपाल बन्दको घोषणासमेत गरेका छन् । वञ्चित समुदायको अधिकार प्राप्तिका लागि कुनै बेला १३ दिने आमरण अनशन मञ्चन गरेका पासवानले अनशनका क्रममा नेपाल सरकार र आफ्नो पार्टीबीच भएको चारबु“दे सम्झौताको सरकारले कुनै पनि बु“दा संविधान संशोधन प्रस्तावको ड्राफ्टमा समावेश नगरेकाले सरकारलाई दिइएको समर्थन आधिकारिक तवरमा फिर्ता लिएको घोषणा गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका उनले वीरगञ्जमा गत शनिबार आयोजित एक कार्यक्रमबीच सरकारले अघिसारेको संशोधन प्रस्तावको विपक्षमा आफू र आफ्नो पार्टी उभिएको उद्घोष गरे ।

केही ठूला राजनीतिक दलका नेताले पुरानै संरचनामा स्थानीय चुनाव गर्ने षड्यन्त्र गरेर जनताले हासिल गरेको न्यून अधिकार पनि खोस्ने चालबाजी गरेको आरोप लगाउँदै उनले आफ्नो दलले देशव्यापी जनजागरणको अभियान सञ्चालन गर्ने बताए । जनजागरण अभियानअन्तर्गत मनुस्मृतिमा वञ्चित समुदायका लागि निर्माण गरिएको विभेदकारी नीतिहरूको विरोध गर्दै त्यसको देशव्यापी रूपमा दहन गर्ने, आगामी चैत १ गतेबाट प्रदेश नं. १, २, ३, ५ र ७ का प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसहितको धर्ना, जुलुस गर्ने, चैत १५ गते आमहडतालअन्तर्गत नेपाल बन्द गर्ने, चैत २१ गते काठमाडौंमा प्रदर्शन र निरन्तर धर्ना कार्यक्रम आयोजना गर्ने, चैत २९ गतेसम्म पनि पार्टीको माग पूरा नभए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन राजधानीमा वञ्चित समुदायको अन्तर्राष्ट्रिय सम्मेलन आयोेजना गर्ने पासवानको कथन छ ।

मन्त्री पदका लागि भरमग्दुर प्रयत्न गर्दा पनि सफल नभएपछि नेपाल बन्द गर्ने धम्की दिँदै प्रचण्ड सरकारलाई जिस्क्याएका पासवानले आन्दोलनको साइतचाहिँ किन चैतको निम्ति जुराए भन्ने जिज्ञासा उनकै पार्टीपङ्क्तिमा जागृत भएको पाइएको छ ।