रिन्जिसागरको ‘प्रीत’ सार्वजनिक

रिन्जिसागरको ‘प्रीत’ सार्वजनिक


20-album

कवि तथा गीतकार रिन्जिसागर राईद्वारा सिर्जित आधुनिक गीतहरूको सङ्ग्रह ‘प्रीत’ सार्वजनिक भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा वरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा गीतकार राईको पहिलो गीति एल्बम विमोचन गरिएको हो । प्रीतमा राईका पाँच गीत समावेश गरिएको छ । सुरेश अधिकारी, लक्ष्मण शेष, राजशुक्र लिम्बू र जसिहाङ राईको सङ्गीत रहेको एल्बममा स्वरूपराज आचार्य, अञ्जु पन्त, रजिना रिमाल, मेलिना राई, प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन् । न हौँ उदास, भुलुँ भुलुँ भुल्नै सकिनँ, सपनीमा आयौ तिमी, केही बन्न चाहन्छौ र जहाँ थियौ बोलका गीत समावेश गरिएको उक्त एल्बम भिक्टोरिया म्युजिकले बजारमा ल्याएको हो । कवि एवम् गीतकार रिन्जिसागर राईको यसअघि आरम्भ यात्रा कवितासङ्ग्रहसमेत प्रकाशित भइसकेको छ । विभिन्न चलचित्रहरूमा पनि गीतकार रिन्जिसागरका गीत समावेश गरिएको छ, जसअन्तर्गत भैरव चलचित्रको शीर्ष गीत नाच भैरे नाच, हाउ फन्नीको शीर्ष गीत एक थुँगा तारा टिप्न आकाश पुग्नुपर्दैन सर्वाधिक लोकप्रिय छन् । त्यस्तै मतान चलचित्रमा गायिका सुनिता राईको स्वरमा रहेको सम्झनामा सधैँ–सधैँ बोलको शीर्ष गीत पनि चर्चित छ ।

विमोचन समारोहमा बोल्दै वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले रिन्जिसागर राई अब कवि मात्र नभई एक स्थापित गीतकार भइसकेको भन्दै बताउनुभयो । साथै प्रीतभित्रका गीतमा मायाप्रेमका मात्रै नभई सन्देशमूलक र चेतनामूलक गीत समावेश रहेको अधिकारीले बताउनुभयो । एल्बम विमोचनका क्रममा बोल्दै गीतकार रिन्जिसागर राईले आफ्ना गीतले नेपाली साङ्गीतिक क्षेत्रमा एउटा इँटा थप्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।