‘दंगल’पछि के ?

‘दंगल’पछि के ?


गत वर्ष अर्थात् सन् २०१६ को अन्त्यमा प्रदर्शनमा आएको अमिर खानको फिल्म ‘दंगल’ले लगातार हङ्गामा मच्चाइरहेको छ । गत २३ डिसेम्बरमा रिलिज भएको उक्त फिल्मले भारु चार अर्बभन्दा बढीको व्यापार गरिसकेको छ भने यही गतिमा अघि बढे छिट्टै नै दंगलले बलिउडकै सबभन्दा बढी कमाइ गर्ने फिल्मको रूपमा रेकर्ड कायम गर्ने सम्भावना छ । अमिरका अलावा शाहरुख खान, अमिताभ बच्चन, अक्षय कुमार, सलमान खानजस्ता स्टार्सले पनि बितेको वर्ष अत्यन्त राम्रा र सफल सिनेमा बलिउड फिल्म उद्योगलाई दिएका छन् भने यस वर्ष (सन् २०१७) पनि ‘बाहुबली–२’, ‘२.०’ जस्ता फ्यान्टासी फिल्म तथा ‘ट्युबलाइट’, ‘रंगुन’जस्ता पिरियड ड्रामा फिल्म रिलिज हुँदै छन् । सन् २०१७ मा रिलिज भएर बक्स अफिसमा धमाका मच्चाउने सम्भावना रहेका केही हिन्दी फिल्म यस्ता छन्–

sarkar-3

रइस : शाहरुख खानको फिल्म ‘रइस’को अहिलेदेखि नै पारखी दर्शकहरूले तीव्र प्रतीक्षा गरिरहेका छन् । यही २५ जनवरीमा रिलिज हुने तयारीमा रहेको यो फिल्ममा शाहरुखले मदिरा तस्करको भूमिका निर्वाह गरेका छन् ।

सरकार ३ : रंगीला फिल्मबाट चर्चामा आएका निर्माता–निर्देशक रामगोपाल बर्माको फिल्म ‘सरकार ३’ मा अमिताभ बच्चनले सुभाष नागरेको भूमिका निर्वाह गरेका छन् । यो फिल्म आगामी १७ मार्चमा प्रदर्शनमा आउने बताइएको छ ।

ट्युबलाइट : हरेक वर्षझैँ यस वर्षको इद पर्व फेरि पनि सलमान खानले बुक गरेजस्तै भएको छ । अर्थात्, यस वर्षको इदको अवसर पारेर सलमानको नयाँ फिल्म ‘ट्युबलाइट’ रिलिज हुनेछ । चाइनिज एक्ट्रेस जू जूले यस फिल्ममार्फत बलिउडमा डेब्यु गर्दै छिन् ।

टाइगर जिंदा है : एक था टाइगरकै सिक्वेल फिल्म ‘टाइगर जिंदा है’ आगामी क्रिसमको अवसर पारेर रिलिज हुनेछ, जसको निर्देशन अब्बास जफरले गरेका छन् ।
रंगुन : दोस्रो विश्वयुद्धमा आधारित विशाल भारद्वाजको फिल्म ‘रंगुन’ आगामी २४ फेब्रुअरीमा प्रदर्शन हुनेछ । यसमा कंगना रनावत, शाहिद कपुर र सैफ अली खान मुख्य भूमिकामा रहेका छन् ।

फिल्लौरी : ‘उडता पञ्जाव’पछि दिलजित दोसाँझ उनका लागि दोस्रो बलिउड फिल्म ‘फिल्लौरी’मा देखिने छन् । यस रोमान्टिक कमेडी फिल्मलाई अनसई लालले निर्देशन गरेका हुन् । यसमा अनुष्का शर्मा मुख्य भूमिकामा छिन् भने फिल्म आगामी २७ मार्चमा रिलिज हुनेछ ।

पद्मावती : सञ्जय लीला भन्सालीको म्याग्नम ओपस फिल्म ‘पद्मावती’ आगामी नोभेम्बरको १७ तारिखमा रिलिज हुनेछ । यसमा शाहिद कपुर, रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा देखिँदै छन् ।

मेरी प्यारी बिन्दु : बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना ‘मेरी प्यारी बिन्दु’मा परिणति चोपडाको साथमा देखिनेछन् । यो फिल्म आगामी मे १२ मा रिलिज हुने बताइएको छ ।

जग्गा जासुस : कैटरिना र रणवीरले अभिनय गरेको फिल्म ‘जग्गा जासुस’ १७ अप्रिलका दिन रिलिज गर्ने तयारी छ ।

हरामखोर : बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दिन सिद्दिकीको फिल्म ‘हरामखोर’ १३ जनवरीका दिन रिलिज हुँदै छ । यस फिल्ममा सिद्दिकीको साथमा मसान फिल्मबाट ख्याति कमाएकी अभिनेत्री श्वेता त्रिपाठी देखिनेछिन् ।

बाहुबली २ : बलिउड फिल्म नभए पनि बाहुबलीको पहिलो भागले दर्शकमाझ ब्यापक प्रशंसा कमाएको थियो । यसैको दोस्रो भागका रूपमा आउन लागेको एसएस राजमौली निर्देशित ‘बाहुबली २’ आगामी अप्रिल २८ मा रिलिज हुँदै छ ।

जोली एलएलबी २ : अक्षय कुमारको कोर्टरुम ड्रामा फिल्म ‘जोली एलएलबी २’ आगामी १० फेब्रुअरीमा रिलिज हुनेछ । यस फिल्ममा अन्नु कपुर र हुमा कुरेसी पनि मुख्य भूमिकामा देखिँदै छन् ।