रेडियो नेपालमा मओवादी आतङ्क

रेडियो नेपालमा मओवादी आतङ्क


केन्द्रमा कार्यकारी निर्देशक नियुक्तिको रस्साकस्सी चलिरहँदा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दीपायलमा सहकर्मीमाथि मुक्का वर्षाएर आफूलाई माओवादी कार्यकर्ता भन्दै प्राविधिक सहायकका रूपमा जागिर खाइरहेका नारायणदत्त पनेरूले रेडियो नेपाललाई नै बदनाम तुल्याएका छन् । आफ्ना सहकर्मीलाई कुटपिट गरेर दादागिरी देखाउने आदतका कारण कार्यस्थलमा छवि धमिल्याएका पनेरूले कार्यालय सहयोगी (पियन) चेत बोगटीलाई कार्यालयहातामै रगतपच्छे हुनेगरी कुटपिट गरेर घाइते तुल्याएका हुन् । सञ्चारमन्त्री आफ्नो पार्टीका नेता रहेको नाताले प्रसारण केन्द्रमा आफूले भनेबमोजिम हुनुपर्ने भन्दै दम्भ प्रदर्शन गर्ने पनेरूले केही समयअघि सोही प्रसारण केन्द्रकी समाचारवाचिका कमला जोशीमाथि समेत हातपात गरेका थिए । महिला सहकर्मीमाथि हात हाल्दासमेत कारबाही नभएपछि हौसिएका पनेरूले पछिल्लो सिकार बोगटीलाई बनाएको दीपायल प्रसारण केन्द्रका रेडियो कर्मचारीबीच चर्चा छ ।
यसरी एकपछि अर्को गर्दै आफ्नै सहकर्मीमाथि हमला गर्दा पनि दीपायल प्रसारण केन्द्रका कार्यालय प्रमुख वौयलाल चौधरीले पनेरूमाथि कारबाही नचलाई मूकदर्शक बनेकोमा कर्मचारी त्रासमा परेका छन् । यसरी पार्टीविशेषको धाक दिएर कर्मचारी कुट्ने रेडियोका कर्मचारीलाई कारबाही गर्न सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले कति चासो दर्शाउने हुन्, पीडित कर्मचारी प्रतीक्षारत छन् ।