बेल्जियममा चम्किँदै गोरख

बेल्जियममा चम्किँदै गोरख


ghale

मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन, बहस निरर्थक हुन सक्छ । तर, यतिचाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि प्रचुर प्रयाससहित सपना जरुर देख्नुपर्छ । र, त्यो सपना पछ्याउने दृढ अठोट र पसिना बगाउने सङ्कल्प त चाहियो नै । आठ वर्षको कलिलो उमेरमा गोरख घलेले मारेको छलाङ त्यही सपना र पसिनाको सम्मिश्रण हो ।

आज एक कलिलो नेपाली केटो फुटबल च्याम्पियन हुँदै बेल्जियममा ‘हिरो’ बनेको छ । यति धेरै फुटबललाई माया गर्ने नेपाली दर्शक भएर पनि दुई वर्षसम्म एउटा ट्रफी जित्न नसकेको क्षेत्रीय बाल फुटबल क्लब एक्टिभ प्रोभान्सबाट गोरखको प्रवेशले फस्र्ट मेडल उठाइदिएको छ । गोरखको आगमनले क्लबमा उत्साह थपेको प्रशिक्षकले बताउँदै उसको भविष्य फुटबल खेलसँगै जोडिएर जानसक्ने प्रशस्त लक्षण देखिएकोतर्फ उनले पङ्क्तिकारसँगको कुराकानीमा सङ्केत गरे । पछिल्लो दुई वर्षको अन्तरालमा दुई–दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय ट्रफी मात्र बेल्जियम भित्रिएको छैन एउटा सामान्य नेपाली किशोरले विदेशी भूमिमा उसको उमेर समूहको खेलमा तीनपटक ह्याट्रिकसमेत गरिसकेको छ ।

यसरी गोरख घले, आठ वर्षको उमेरमा आज सारा बेल्जियम, नेदरल्याण्ड र बेलायतका फुटबल फ्यानहरूबीच चिनिन सफल छ । उनका बाबु राम घले भन्छन्, ‘मेरा लागि भने गोरख आज चम्किएको होइन । तीन–चारवर्षे बच्चै हुँदा त्यही बेला आजकै जस्तो चकचके थियो उसको खुट्टा, कुनै पनि गोलो वस्तुलाई फुटबल जसरी खेल्थ्यो, अभिभावकको आँखा छलेर कुनै पनि बेला फुटबलमै रमिरहेको भेट्थ्यौँ हामी, त्यतिबेलैदेखि मैले उसको भविष्य फुटबलमा चम्किने सपना देखिसकेको थिएँ ।’ थप प्रसङ्गमा उनले थपे, ‘कुरो २०१४ तिरको हो, छोराको फुलबलप्रतिको रुचि देखेर मैले एक दिन मेरै सुसी हाउसमा आउने एक ग्राहकसँग उसको रुचि र भविष्यबारे चासो राखेँ । उनले मेरो कुरालाई गम्भीर ढङ्गले लिँदै सिन्जोफ नामक बाल फुटबल क्लबबारे जानकारी दिए । त्यसपछि मैले उक्त क्लबमा प्रक्रियासहित भर्ना गर्नका लागि आवेदन दिएँ र इन्ट्री गराएँ ।’

ghale-keto-6jpg

गोरखाको मान्बु–३ बाट २००० मा बेल्जियम आएका राम घलेका दुई छोरामध्ये गोरख जेठा हुन् । २००८ मा बेल्जियममै जन्मिएका उनी पढाइमा भने फुटबलमा जस्तो अब्बल नभएको जानकारी दिँदै उनकी आमा विना घलेले भनिन्, ‘ऊ पदाइमा भन्दा बढी फुटबलमा अभ्यासरत छ, दुईवटा क्लबमा पाँच दिन फुटबलको अभ्यासमा जानुपर्छ ।’

गोरखको खास इच्छाबारे प्रश्न राख्दा उनले मुसुक्क हाँस्दै भने, ‘एकपटक बार्सिलोनाको विश्वप्रसिद्ध फुटबल खेलमैदान हेर्ने धोको छ, युरोपका प्रख्यात क्लबबाट खेल्दै गोर्खालीको नाम विश्वमा चम्काउने धोको रहर छ ।’

२०१५ मा उनको उमेर–समूहमा ‘बेल्जियम च्याम्पियन’ घोषित घले २०१५ जुलाई २६ मा पुनः ‘बेस्ट प्लेयर’ उपाधिबाट विभूषित भएपछि उनको माग बेल्जियमका विभिन्न क्लबमा ह्वात्तै बढेको छ । उनी अहिले अत्यन्त व्यस्त छन् । बाजे–बज्यै विराट र आइतीमाया घलेका नाति गोरखलाई संसारभरिका फुटबलप्रेमीले चिन्न सकुन्, ‘बेल्जियम फुटबल च्याम्पियन’ नेपाली तथा फुटबलका आशलाग्दा किरण गोरखलाई शुभकामना ।

– डिल्लीराम अम्माई (बेल्जियम)