अपनत्व

अपनत्व


JB Khatri

– जेबी खत्री

उनकी आमाले
उनलाई गर्भमा बोकेर
सुतेको अन्तिम रात
घाम निलेको सपना देखेकी थिइन् रे ।
सपनाको फल पाउने आशाले
उनी रातभरि जागै बसिन् रे ।
बिहानीपख उनको जन्म भएपछि
उनले उदाउँदो सूर्यलाई
अर्घ चढाएर
आशीर्वाद मागिन् रे
भगवान्
मेरो छोरो पनि
तिमीजस्तै
तेजस्वी र
प्रतापी होस् भनेर,
त्यसैले उनी
प्रतापी भएका रे ।
यस्तै किम्बदन्ती सुनाउँथे,
उनका बारेमा
अनुहार चाउरी परेका
गाउँका बूढापाकाहरू ।
आफ्नो चिउँडोमा
लौरो अड्याएर
शरीर थमाउँदै,
उनका बारेमा
कथा सुनाउँथे ।
हामी केटाकेटीहरू
खुब चाख मानेर सुन्थ्यौँ ।
लोभिएर मनमनै भन्थ्यौँ ,
हाम्री आमाले पनि
यस्तै सपना देखेकी भए
सायद हामी पनि
यस्तै कुनै कथाका
पात्र हुने थियौँ होला ।
लोभिनु आफैँमा कुँडिनु रहेछ ।
हामीले बुझेनौँ ।
सायद यहीँबाट
सुरु भयो
हामीमा मतभेद र
चुलियो विभेदको पहाड ।
हामीले उनको अनुहारमा
खोज्न थाल्यौँ,
उनको पहिचान ।
उनले किमार्थ आफ्नो अनुहारमा
देखेनन् आफ्नो पहिचान ।
सधैँ अर्काको अनुहारमा
आफ्नो पहिचान देख्ने उनी
उनले सिङ्गो मानव समुदायभित्र
आफ्नो पहिचान खोजिरहे ।
फलिने क्रममा उनी सधैँ
सग्लो चामल फलिइरहे ।
हामी कनिकाजस्तो
कुँडिँदै गयौँ ।
उनी दूबोजस्तो
विचारको खुल्ला चौरीमा
फैलिँदै गइरहे ।
हामी अनुहारभित्रको
पहिचानको घेराभित्र
खुुम्चिइरह्यौँ ।
साँघुरिइरह्यौँ ।
हामी अहिले पनि
बहसकै टेबलमा छौँ ।
उनी विश्व मानवताको
उचाइमा पुगिसके ।
हामी खहरे खोलाजस्तो
मौसमी बग्यौँ ।
उनी समुद्रजस्तो
सदावहार बगिरहे ।