सङ्गीत साधना प्रतिष्ठानमा धामी

सङ्गीत साधना प्रतिष्ठानमा धामी


27-dhami

सङ्गीतकार तथा गायक राम धामी सङ्गीत साधना प्रतिष्ठान, इटहरीको अध्यक्षमा चयन भएका छन् । गत साता सम्पन्न प्रतिष्ठानको साधारणसभाले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहेका धामीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा राम खड्का, महासचिवमा राजु केसी, सचिवमा मोहन तिम्सिना र कोषाध्यक्ष नवीन श्रेष्ठ चयन भएका छन् भने साधारणसभाले सदस्यहरूमा टीका लिम्बू, सुजाता विष्ट, रोशन रानामगर, खुवेन्द्र श्रेष्ठ, श्री पोखरेल र बलराम समाललाई छनोट गरेको छ ।

नवनिर्वाचित अध्यक्ष धामीले नेपाली सङ्गीतको खोज, अन्वेषण एवम् सङ्गीत शिक्षालय, सांस्कृतिक सम्पदा सङ्ग्रहालयका साथै सङ्गीतगृहको निर्माणकार्यलाई प्रमुख महत्व दिने बताएका छन् । प्रतिष्ठानले इटहरीमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गरिरहेको छ ।


राजारामको काँधमा नागरिक जागरण मञ्च

rajaram-shrestha-2

नागरिक जागरण मञ्च नेपालले राजाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संस्थाको शनिबार सम्पन्न सभाले प्रथम उपाध्यक्षमा डा. सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मोहन उपाध्याय, महासचिवमा मोहन राजलवट र कोषाध्यक्षमा हसिना श्रेष्ठलाई निर्वाचित गरेको छ । मुलुकका विभिन्न क्षेत्र तथा भूगोल समेटेर १६ सदस्यको छनोट पछि गरिने जनाइएको छ । राप्रपाको प्रवक्तासमेत रहेका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाजका विभिन्न स्थानमा समाजसेवाका माध्यमबाट विपन्न वर्गको सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामा संस्थाका निवर्तमान अध्यक्ष एवम् सांसद दीपक कुइँकेलले मुलुकमा सबै जाति तथा समुदायबीच सामाजिक एकता तथा सद्भाव कायम राख्नका लागि अभियान सञ्चालन गर्न र नागरिकको आर्थिक विकास तथा देशको समुन्नतिका लागि काम गर्न नयाँ नेतृत्वसँग आग्रह गरेका थिए ।