बलात्कारीलाई सफाइ !

बलात्कारीलाई सफाइ !


rape-2

बलात्कारजस्तो जघन्य अपराधमा समेत पीडितले न्याय पाउन नसकेपछि सर्वसाधारणमा चिन्ता पैदा भएको छ । कुरा कास्की जिल्ला अदालतबाट भएको एक फैसलाको हो । शान्ति उच्च माध्यमिक विद्यालय जुम्लेटी अर्मलामा कक्षा ८ मा पढ्ने एक किशोरीलाई शिक्षक लक्ष्मण खवासले बलात्कार गरेको मुद्दामा जिल्ला न्यायाधीश नरिश्वर भण्डारीको इजलासले बलात्कारीलाई सफाइ दिएपछि उक्त क्षेत्रका मानिसले यो मुलुकमा न्याय मरेको चर्चा गर्न थालेका छन् । विद्यार्थीलाई गणितको ट्युसन पढाउने क्रममा आफ्नै घरमा लगेर बलात्कार गरेको कुरा उल्लेख गर्दै पीडितका बाबुले दिएको जाहेरी र पीडितको बयानलाई गलत भन्दै अपराधीलाई सफाइ दिनुलाई आश्चर्यजनक घटनाको रूपमा लिइएको छ ।

पीडित किशोरीको बयानअनुसार डर देखाएर, धम्क्याई बलात्कार गर्दै आएका शिक्षक खवासले अन्तिमपटक २०७१ साल फागुन २ गते जबर्जस्ती करणी गरेका थिए र उनले विभिन्न समयमा सातपल्ट जबर्जस्ती गरेका थिए । २०७१ को मङ्सिरमा स्कुलको शैक्षिक भ्रमणमा गएको बेलादेखि नै यौन हिंसा गरेको र पत्नी अस्ट्रेलिया गएको मौका पारी घरमै लगेर बलात्कार गरेको कुरा पीडकले स्वीकार गरिसकेको सन्दर्भमा न्यायाधीशले यसरी सफाइ दिएका हुन् । पटकपटक बलात्कार भएपछि किशोरीले आफ्ना बाबुलाई उक्त कुरा बताएकी थिइन् ।

बाबुले अदालतमा बलात्कारको मुद्दा हालेपछि दोस्रोपल्ट सबैको बयान फेरिएको बकपत्र दर्ता गराइएको थियो । जसअनुसार बाबु, सौतेनी आमासहित सबैले जबर्जस्ती करणीको विरुद्धमा बयान दिएको देखिन्छ । अनुसन्धान अधिकारीसमक्ष पहिलो बयानमा पीडकले आफूले बलात्कार गर्दाको अवस्थाको सविस्तार वर्णन गरेका थिए । बयानमा पीडितले गरेको जिकिरलाई पीडकले हो भनी स्वीकार गरेका छन् । बाबुले पनि छोरीको अवस्था वर्णन गर्दै मुद्दा दायर गरेका छन् । किशोरीको स्वास्थ्य परीक्षण गर्ने डा. दीपकराज काफ्लेले योनिको झिल्ली च्यातिएको रिपोर्ट दिएका छन् । तर, यी सब प्रमाण हुँदाहुँदै पनि पछिल्लो चरणमा सबैको बयान आश्चर्यजनक ढङ्गले फेरिएको थियो ।

बलात्कारजस्तो गम्भीर मुद्दामा समेत घरपरिवारका सदस्यले बयान फेर्नुलाई योजनाबद्ध रणनीतिको रूपमा लिइएको छ । यो मुद्दामा को–को मिलेर यसप्रकारको फैसला आयो भन्ने कुरा खोजीको विषय बनेको छ । अन्तर्राष्ट्रिय यौन हिंसाको कानुन र नेपालको कानुनअनुरूप बलात्कारको मुद्दामा मेलमिलाप गर्न पाइँदैन । तर, यो मुद्दाको फैसलामा हाम्रो न्यायिक अभ्यासमा समेत यस्ता प्रकृतिका कागजलाई मान्यता प्रदान गर्ने गरिएको पनि देखिन्छ भन्ने उल्लेख गर्दै पीडित र प्रतिवादीबीच मेलमिलाप गराउने उद्देश्यले कुनै ठाउँमा गरिएको कागजलाई प्रमाणका रूपमा ग्रहण गरिएको छ । यसरी बलात्कारको मुद्दामा थुनामा रहेका शिक्षक लक्ष्मण खवासलाई न्यायाधीश नरिश्वर भण्डारीले योजनाबद्ध तवरले थुनामुक्त गरिदिएका छन् ।