सेनासँग मिलेर विकट क्षेत्रमा अस्पताल

सेनासँग मिलेर विकट क्षेत्रमा अस्पताल


health-minister

स्वास्थ्य मन्त्रालयले नेपाली सेनासँग सहकार्य गरेर स्वास्थ्य सेवा पुग्न नसकेका विकट क्षेत्रमा ‘मोबाइल अस्पताल’ सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले स्वास्थ्य सेवा पु¥याउन नसकेका क्षेत्रका जनतालाई अत्यावश्यक नपर्ने शल्यक्रियालगायतको बृहत् विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ यससम्बन्धी छलफल अगाडि बढाइएको बुझिएको छ ।

सेनाले सुदूरपश्चिमाञ्चलको धनगढी र मध्यमाञ्चलको काठमाडौंबाट मात्र मोबाइल अस्पताल सञ्चालन गर्दै आएकामा अब सर्वसाधारण जनतालाई समेत सेवा दिने गरी सञ्चालन गर्न लागिएको हो । आगामी माघ महिनाबाटै सेवा सुरु गर्ने मन्त्रालयको तयारी रहेको छ ।

मन्त्रालयले सैनिक, प्रहरी र सशस्त्र प्रहरी अस्पतालसँगको समन्वयमा स्वास्थ्य सेवा प्रवाह गर्न गृह र रक्षा मन्त्रालयमा अन्य प्रस्ताव पनि गरेको छ । मन्त्रालयले नेपाली सेना र नेपाल प्रहरीका अस्पताल सर्वसाधारणका लागि पनि खुला गर्ने, कर्णाली अञ्चल, हिमाली जिल्ला र मन्त्रालयले आवश्यक ठानेका जिल्लामा रहेका अस्पताल र स्वास्थ्य संस्थामा सेना, प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका स्वास्थ्य सेवा दिने एकाइमा कार्यरत चिकित्सकको उपयोग गर्नेप्रति बिरामी जाँच शुल्कबापत तोकिएको रकमसम्बन्धी एकाइलाई जिल्ला जनस्वास्थ्यमार्फत अनुदान दिने, सर्वसाधारणका लागि खुल्ने फार्मेसीका लागि बिउ पुँजी दिने, सेवा प्रहरीका लागि पनि छात्रवृत्ति, विदेशी तालिमलगायतको व्यवस्था गर्ने विषयमा पनि सहमति भएको बुझिएको छ । आपतकालीन उद्धारका लागि सेनाको हेलिकोप्टर प्रयोग गर्ने विषयमा छलफलमा सहमति भइसकेको र त्यसलाई औपचारिक रूपमा सहमति गर्न बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।