धुर्मुस–सुन्तलीलाई मुसहरको सम्मान

धुर्मुस–सुन्तलीलाई मुसहरको सम्मान


dhurmus-2

पेसाले कलाकार भए पनि दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको भन्दै बर्दिबासवासीले हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान प्रदान गरेका छन् । मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका हास्यकलाकारद्वय सीताराम र कुञ्जनालाई बर्दिबास (महोत्तरी)मा सम्मान गरिएको हो । बर्दिबास नगरपालिकाले आफ्नो तेस्रो नगर परिषद्को अवसर पारेर गत आइतबार ‘धुर्मुस–सुन्तली’ जोडीका रूपमा लोकप्रिय कलाकारजोडीलाई सम्मानित तुल्याएको हो । पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले धुर्मुस–सुन्तलीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे । मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागिपरेका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि सुरु गरेको सत्प्रयासको कदरका लागि उनीहरूलाई सम्मानित गरिएको बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीको भनाइ छ । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिबास झरेका धुर्मुस–सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिबासवासीले सामूहिक उद्घोष गरेका थिए ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चार करोड ७८ लाखको लागतमा बर्दिबास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्तीमा रूपान्तरण गर्ने उद्देश्यका साथ काम सुरु गरेको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको सुप्रसिद्ध हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले शिलान्यास गरेका छन् । कार्यक्रममा हास्यकलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिबासवासीले देखाउनुभएको आत्मियता र सहयोगले आफूहरूलाई थप ऊर्जा प्राप्त भएको उल्लेख गर्दै भने, ‘हामी तपाईंहरूसँगै सिमेन्ट, बालुवा, गिटी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन, सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।’ उक्त अवसरमा मह जोडीले एक लाख, किरण केसीले १० हजार, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सांसद विकास कोषबाट १० लाख दिने घोषणासमेत गरेका छन् ।

आगामी चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मुसहर नमुना बस्तीका लागि गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख ६६ हजार तीन सय एक रुपैयाँका साथै थप सहयोग जुटाइने धुर्मुस–सुन्तलीको लक्ष्य रहेको बुझिन्छ ।