‘एकता दिवस’को औचित्य

‘एकता दिवस’को औचित्य


ghatana-logo-1

नेपालको इतिहासलाई सही तवरले बुझेका र मुलुकको वर्तमान अवस्थाका आधारमा भविष्यको तर्कपूर्ण आँकलन गर्न सक्ने विज्ञ–विश्लेषकका दृष्टिमा यतिबेला नेपालको राजनीति मात्र होइन, नेपाली मौलिक संस्कृति पनि बेस्सरी कचल्टिएको छ । नेपालको राष्ट्रियता धमिलिएको छ भने राष्ट्रको अस्तित्व नै खतरामा परेको छ । अर्थात्, नेपाल राष्ट्र यसबखत विखण्डनको दिशातर्फ धकेलिएको छ । स्वभावतः यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता महसुस गरिनु स्वाभाविक हुन आउँछ । राष्ट्र एक रहोस् भनी कामना गर्नु र त्यसका लागि सतत् प्रयत्न गर्नु हरेक राष्ट्रभक्त नागरिकको कर्तव्य पनि हो, सचेत नेपालीलाई यो सम्झाइरहनुपर्ने विषय होइन ।

नेपालको इतिहासबारे थोरै मात्र हेक्का राख्नेले पनि जानेकै कुरा हो कि पुस २७ लाई देशले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मान्दै–मनाउँदै आएको थियो । विडम्बना भन्ने कि दुर्भाग्य † गणतन्त्रप्राप्तिको आवेगमा रमरमाएको तात्कालिक सरकारले पृथ्वीनारायणको जन्मदिन भएकै आधारमा देशले परम्परागत रूपमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसको औचित्यमाथि नै धावा बोलिदियो । तात्कालिक गिरिजा कोइराला नेतृत्वको सरकारको सो कदम कसैको उक्साहटको उपज थियो या परिस्थितिजन्य भूल भन्नेमा विभिन्न तर्क–वितर्क चल्दै गर्ला, तर उक्त गल्ती सच्याउने विकल्प खुला रहँदारहँदै पनि राजनीतिक दलका नेतृत्व तह, नेपाल सरकार वा शासकहरूले यस मुद्दामा संवेदनशीलता दर्शाउन सकिरहेका छैनन् । फलतः नेपाल राष्ट्र ‘राष्ट्रिय एकता दिवसबिनाको देश’को परिचय बोकेर घिटिघिटी बाँच्न विवश छ ।

जनजाति–आदिवासीको भाषा, धर्म, संस्कार, संस्कृति समाप्त पारिदिएको आरोप नेपाल राष्ट्र निर्माता पृथ्वीनारायणमाथि लगाइयो र लगाइँदै छ । उनीद्वारा आदिवासीको राज्यसत्ता खोसिएको भनिएको छ । तर, टुक्रे राज्यलाई एक सूत्रमा बाँधेर गोर्खाका राजा पृथ्वीनारायणले ‘नेपाल’को निर्माण नगरिदिएका भए ती स–साना राज्यको अस्तित्व यतिबेला कहाँ रहन्थ्यो या ‘कहिल्यै कसैको गुलाम बन्नु नपरेको स्वतन्त्र नेपाली’को पहिचान कसरी बन्थ्यो, फेरि पनि सोचनीय छ । जहाँसम्म भाषा, धर्म, संस्कार–संस्कृति समाप्त पारिदिएको आरोप छ, कुन आदिवासी–जनजातिको कुन धर्म, संस्कार–संस्कृति वा परम्परा यो मुलुकमा मासिएको छ भन्ने प्रश्न टड्कारै उठ्छ । यहाँ कुन जातिको कुन भाषा कसले मासेको छ ? आफ्नो मातृभाषालाई बोलिचालीको माध्यम तुल्याउन रोक कसले लगाएको छ ? यदि कसैका मौलिक पहिचान मासिएकै या मासिँदै छ भने सनातन धर्म–संस्कृति त्यागेर पराया धर्म अँगाल्न उद्यत् जाति–समुदायकै कथित अग्रगमनकारीहरूका कारण आदी धर्म, संस्कार–संस्कृति मासिएको तर्क गर्न सकिने प्रशस्त आधार छन् । के आफ्नो भाषा, धर्म, परम्परा त्यागेर अर्को धर्म–संस्कृति अँगाल्न नेपाल राज्यले आफ्ना कुनै जातजाति वा सम्प्रदायविशेषका नागरिकलाई बलजफ्ती गरेको छ ? आफ्नो संस्कार–सम्पदा आफँै थाम्न नसक्ने अनि कुनै जात, वर्ण वा पात्रविशेषलाई पूर्वाग्रही बनेर आक्षेप लगाउने प्रवृत्ति वास्तवमा खतर्नाक ढङ्गमा हुर्किएको–हुर्काइएको छ । यस्तो प्रवृत्तिले आफैँलाई त बर्बादीको दलदलमा धसाउने खतरा बढाउँछ नै, राष्ट्रलाई समेत समाप्तिको दिशामा लैजान सक्छ । मुलुकमा राष्ट्रिय एकताको एक सर्वमान्य प्रतीक तथा एकता दिवसको औचित्य अपरिहार्य रहेको अनुभूति यही परिवेशको जगमा गरिएको हो ।

हुन त गणतन्त्र घोषणापछि राष्ट्रपतिलाई नै एकताको प्रतीक मानेर अघि बढ्ने प्रयत्न नगरिएको होइन, अझै गरिँदै छ । गणतान्त्रिक संविधानले ‘राजसंस्था’को स्थानमा ‘राष्ट्रपति’लाई सर्वमान्य संस्थाको रूपमा उभ्याउन खोजे पनि गणतन्त्र स्थापनापछिको दशक अवधिले यस मान्यतालाई साकार वा सिद्ध गर्न नसकेको छर्लङ्गै छ । गणतन्त्र भनिए पनि राजनीतिक दलका सीमित नेताले मुलुकलाई कसरी लतार्दै छन्, नेपाल कुन अवस्थाबाट गुज्रिँदै छ र संविधान पालना गर्ने सवालमा नेपाली कति अनुशासित देखिएका छन्– कसैले कसैलाई सम्झाइरहनुपर्ने अवस्था छैन । राष्ट्रपतिलाई एकताको प्रतीक संस्था मान्ने कुरा त परै रह्यो, देशलाई नै अखण्ड भावले हेर्ने संस्कारको विनाश भएको छ । टुक्रा–टुक्रामा राज्यको अंशबन्डा लगाएर अस्तित्व मेटाउने आत्मघाती प्रवृत्तिले नेपाल आक्रान्त छ । अनुशासनहीनता हुर्किंदै अराजकता यति चुलिन पुग्यो कि न जनता शासकको काबुमा छन् न त सरकार नै जनभावनाबाट चल्ने प्रयत्न गरिरहेको छ ।

यस्तो अवस्थामा नेपाल राष्ट्रको निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहको योगदानलाई जबर्जस्ती भुल्न–भुलाउन खोजिनुको रहस्यबारे हरेक नेपाली जिज्ञासु बन्नु स्वाभाविक हुन आउँछ र उनको कदर एवम् मार्गनिर्देशन अवलम्बन मुलुक तथा मुलुकवासीका निम्ति अपरिहार्य सन्दर्भ बनेको छ । पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने जनअपेक्षाको सुनुवाइ गर्न नेपाल सरकार किन कन्जुस्याइँ गरिरहेको छ, यसको अन्तर्यको खोजी पनि हरेक देशप्रेमी नेपालीको सरोकारको विषय हो ।