उच्चस्तरीय बैठकमा भीम रावलको बेग्लै रिपोर्ट :: दलका नेताहरू स्तब्ध

उच्चस्तरीय बैठकमा भीम रावलको बेग्लै रिपोर्ट :: दलका नेताहरू स्तब्ध


bhim-rawol

राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियतामाथि गम्भीर किसिमले खतरा पैदा भएको बताउँदै गर्दा एमाले नेता भीम रावलले नेपालमा हिंसात्मक सङ्घर्ष सुरु गर्न अन्यत्र सैन्य तालिम दिने काम भइरहेको विवरण प्रस्तुत गरेपछि दलका नेताहरू स्तब्ध बनेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार गत साताको बिहीबार राष्ट्रपति विद्या भण्डारीले पाँच प्रमुख दलका नेताहरूलाई राष्ट्रपति भवनमा बोलाएर चिन्ता जाहेर गर्नुभएको थियो । उहाँले देश निकै अप्ठ्यारो स्थितिमा पुगेको र राष्ट्रियता एवम् राष्ट्रिय एकतामाथि आँच आउने प्रकारका क्रियाकलाप भएको बताउँदै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रपतिले आफ्ना कुराहरू राखिसक्दा–नसक्दै एमाले नेता भीम रावलले ब्रिफकेसबाट केही कागजका पानाहरू निकालेर देखाउँदै भन्नुभयो, ‘अहिले पृथकतावादीहरूलाई सीमापारि सैन्य तालिम दिने काम भइरहेको छ, आगामी अप्रिल (चैत–वैशाख) देखि नेपालमा सशस्त्र युद्ध सुरु गर्ने र देश विभाजित गर्ने योजना बनेको सूचना हामीलाई प्राप्त भएको छ ।’ रावलको भनाइ थियो, ‘संविधान संशोधन नै भए पनि देश टुक्य्राउनेहरूले आफ्नो क्रियाकलाप रोक्ने देखिँदैन । निकट भविष्यमै आउने यसप्रकारको चुनौतीको सामना गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।’

नेता रावलको कुरा सुनेपछि बैठकमा उपस्थितमध्ये अधिकांश नेता स्तब्ध र गम्भीर बनेको बताइन्छ । बैठकमा नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र भीम रावल, माओवादीका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका पशुपतिशमशेर राणा र कमल थापा तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए । पाँच प्रमुख दलका नेताहरूलाई साक्षी राखेर राष्ट्रपतिसमक्ष भीम रावलले प्रस्तुत गर्नुभएको प्रतिवेदनको आधिकारिकताबारे दलका नेताहरू स्पष्ट छैनन् । भीम रावलकै हातमा त्यस्तो रिपोर्ट किन र कसरी पुग्यो भन्ने नेताहरूको जिज्ञाशा अझै कायम रहेको बताइन्छ । तर, रावलले भने देशमा पृथकतावादीहरूले सशस्त्र सङ्घर्ष सुरु गर्न लागेकोले सबै नेपाली एकजुट भएर सामना गर्नुपर्ने अवस्था आएको भन्न छोडेका छैनन् । कतिपय नेताहरूले रावलको यो कार्यलाई संविधान संशोधनमा अवरोध पैदा गर्ने एउटा ‘कला’का रूपमा बुझेको बताइन्छ । स्मरणीय छ, नेकपा एमाले यतिबेला छिमेकी मित्रराष्ट्रसँग लडिरहेको ठान्दछ र यो लडाइँमा एमाले विजयी बन्न सक्दा मात्र देश जोगिने विश्वासमा उक्त दलका नेताहरू रहेका छन् ।