मदन स्मृति रंगशालाको उद्घाटन

मदन स्मृति रंगशालाको उद्घाटन


sport-madan

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन स्मृति रंगशालाको उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्बिर अनावरण गरी अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको ठूलो ढुङ्गामा स्थानीय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण थालिएको हो । सुरुवातमा जग्गालाई सम्याएर मैदान बनाइएको छ ।

‘हाम्रो योजना बहुउद्देश्यीय रंगशाला निर्माण गरी हालको दशरथ रंगशालाको विकल्प दिनु हो,’ एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘एकेडेमी, वन उपभोक्ता समिति र चन्द्रागिरि विकास मञ्चको संयुक्त पहलमा निर्माण कार्य सम्पन्न गर्नेछौँ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुवात हुनु खेलकुदमा नया“ अध्याय थपिनु भएको बताउँदै सानो आकारमा निर्माण सुरु गरिएको रंगशालाले भविष्यमा ठूलो रूप लिने विश्वास व्यक्त गरेका थिए । उनले सबै उमेरसमूहका लागि शारीरिक र मानसिक रूपमा स्वस्थ रहन खेलकुद महत्वपूर्ण माध्यम भएको बताउँदै एकेडेमीले खेलकुदको क्षेत्रमा रचनात्मक कार्य गर्दै आइरहेको धारणा व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले स्थापनाको छोटो अवधिमा एकेडेमीले खेलकुदको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउँदै रंगशाला निर्माणका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।