
टोकियो (जापान) । आधुनिक नेपालका निर्माता तथा राष्ट्रनायक बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्ती टोकियोमा विशेष कार्यक्रम गरी सम्पन्न भएको छ । जापानमा सक्रिय प्रवासी नेपाली संगठन, जापान (ओनो)ले टोकियोको सिनओकुबोस्थित नेपाली मुरा हलमा आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवस कार्यक्रममा नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको भूमिका र उनको योगदानको बारेमा विभिन्न व्यक्तिहरुले चर्चा गरे ।
कार्यक्रमका सबै वक्ताहरुले देश विखण्डनतर्फ गइरहेको र राष्ट्रियता कमजोर भइरहेको बर्तमान परिस्थितिमा नेपालमा पृथ्वीनारायण शाह जस्तो राष्ट्रनायकको आवश्यकता रहेको र यतिबेला उनको अभाव झनै खड्किएको भन्दै चिन्ता व्यक्त गरे। छरिएर रहेका ससाना बाईसे चौबिसे राज्यहरुलाई एक गरेर एउटा सिंगो नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह जस्ता दुरदर्शी महापुरुषको योगदानको कदर सरकारबाट हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै राष्टनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले कहिल्यै भुल्न नहुने र उनको जन्मजयन्तीलाई विशेष रुपमा मनाइनुपर्नेमा वक्ताहरुले जोड दिए ।
ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विदुसी सपना माता र विशेष अतिथिमा राप्रपा का नेता तथा ओनो जापानका सँस्थापक तथा समाजसेवी कलेन्द्रविक्रम शाही रहेका थिए । प्रमुख अतिथि सपना माताले राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती जापानमा समेत मनाउन पाउदा आफुलाई गर्व महसुस भएको बताइन्। यसैगरी विशेष अतिथि शाहीले इतिहासलाई कहिल्यै कसैले भुल्न र मेट्न नहुने उल्लेख गर्दै पृथ्वी नारायण शाहको योगदानलाई उच्च सम्मान दिँदै प्रत्येक विहान उहाँको शालिकमा नेपाली सेनाले सलामी दिनुपर्नेमा जोड दिए ।
पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवालले दिएका थिए भने कार्यक्रममा एनआरएन आईसिसी सदस्य कपिलदेव थापा, बाँके बर्दिया समाजका जनक शाही, यूवा व्यवसायी दिपक सुवेदी, भक्ति दर्शन टेलिभिजनका केदार तिमिल्सेना, ओनोका पूर्व अध्यक्ष रघुदिप खड्का, सहअध्यक्ष सुशीलवीर जबरा लगायतले आफ्ना विचारहरु राखेका थिए । कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, संचारकर्मी तथा प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।
– अर्पण खरेल/वीरेन्द्र पौडेल

प्रतिक्रिया