अस्ताउँदो सूर्य

अस्ताउँदो सूर्य


Chandra Prakash Magar
– चन्द्रप्रकाश बुढामगर

सन्ध्यामा नेपालआमा
टुक्रुक्क पिँढीमा बसेर
काखमा उदाउँदो सूर्य च्यापेर
क्षितिजमा अस्ताउँदो सूर्य हेर्दै छन् ।
बुहारी कहाँ छिन् थाहा छैन उनलाई
तर छोरो उनको विदेशमा पसिना वर्षाएर
बुहारीका सपनाहरूलाई
सिँचिएर, हराभरा पार्दै छ ।
बूढीआमालाई
बुहारीका अस्वाभाविक रूपले
मौलाउँदै गएका सपनाले
चिन्तित पारेको छ ।
त्यसैले उनको मन हारेको छ ।
कतै ती सपनाले
पुख्र्यौली घर डुबाउने त होइन ?
छोराले पठाएका प्रत्येक पसिनाका थोपाले
बुहारी अझ कुरूप बन्दै
मनमोहक भएकी छिन्,
आफ्ना मूल्य हराउँदै
अमूल्य भएकी छिन् ।
हिँड्दा–हिँड्दै साथ छुटाएकी
बूढीआमाले, जति सम्झाउँदा पनि
बुहारीले कान थुनिन्
नसुनेझैँ गरिन् ।
त्यसैले उनलाई ननिको लाग्छ
छोरालाई पनि कति सम्झाइन्
तर, छोराले सुन्दै सुनेन
आमाका अर्थहीन सत्य कुरा ।
किनकि, छोरो बुहारीको भइसक्यो
बुहारी अर्कैकी भइसकी
त्यसैले आज पनि…
बूढीआमा, पिँढीमा बसेर
उदाउँदो सूर्य च्यापेर
क्षितिजमा अस्ताउँदो सूर्य हेर्दै छिन् ।
– सल्यान