एक सय आठमै केबलकारको टिकट

एक सय आठमै केबलकारको टिकट


5 CH-MAGH-108-OFFER-MNEMONIC

माघ महिनामा पर्ने सोमबार भगवान् शिवका लागि पवित्र बार हुने विश्वासअनुरूप चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारले माघ महिनामा पर्ने सोमबार बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर टिकट खरिदमा विशेष छुटको योजना अघि सारेको छ । योजनाअनुसार ०७३ साल माघ महिनाका प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले जम्मा १०८ रुपैयाँमै टिकट प्राप्त गर्नेछन् । यस व्यवस्थाअन्तर्गत एकजनाले एउटा मात्र टिकट लिन पाउने र छुटको टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनुपर्ने कम्पनीले जनाएको छ ।

गत साउन २४ बाट व्यावसायिक सञ्चालनमा आएको चन्द्रागिरि केबलकार विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधिजडित छ भने उक्त केबलकारले प्रतिघन्टा एक हजारजनासम्म यात्रु बोक्ने क्षमता राखेको बताइन्छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एनन्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेस्ट न्यु डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ । केबलकार सञ्चालनमा आएदेखि ०७३ साल पुस मसान्तसम्म दुई लाख ८९ हजार चार सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरेका पनि उक्त कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शानार्थी तथा पर्यटकको लागि निःशुल्क बससेवाको व्यवस्थासमेत गरेको छ । ती बस प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट छुट्छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै र कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने बताइएको छ ।