प्रियङ्काको नेपाली फिल्ममा मञ्जु

प्रियङ्काको नेपाली फिल्ममा मञ्जु


Priyenka-Manju

अमेरिकन टिभी सो ‘क्वान्टिको’को सुटिङका क्रममा लडेर घाइते बनेकी वलिउड अभिनेत्री प्रियङ्का चोपडा यतिबेला नेपाली सिनेप्रेमीमाझ अर्को कारणले पनि चर्चामा छिन् । यसरी प्रियङ्कालाई विशेष चर्चामा ल्याउने माध्यम बन्न पुगेको छ– उनले नेपाली भाषामा निर्माण गर्न लागेको सिनेमा ‘पौवा’ । होम प्रोडक्सन ‘पर्पल बेबल’मार्फत भारतका विभिन्न क्षेत्रीय भाषामा फिल्म निर्माण गर्दै आएकी प्रियङ्काले ‘सिक्किम वेस्ड’ नेपाली फिल्म पौवा बनाउन लागेकी हुन् । यसअघि उनले मराठी फिल्म ‘भेन्टिलेटर’, भोजपुरी फिल्म ‘बमबम बोला है’ निर्माण गरेकी थिइन् भने उनको पञ्जावी फिल्म ‘श्रावण’ पनि प्रदर्शनको तयारीमा छ । स्थानीय स्तरका स्रोत–साधन प्रयोग गरेर स्थानीय कलाकारलाई नै मौका दिने उद्देश्यले विख्यात अभिनेत्री चोपडाले यसरी क्षेत्रीय तहका सिनेमा निर्माण गर्दै आएकी हुन् । प्रियङ्काले ‘पर्पल बेबल’को जिम्मेवारी आफ्नी आमा मधु चोपडालाई सुम्पिएकी छिन् । सिक्किममा पौवाको अर्थ पाहुना हुन्छ । कुनै कारणवश आफ्ना मातापिताबाट टाढिएका बालबालिकाको कथावस्तुमा ‘पौवा’ केन्द्रित रहने प्रियङ्काले जनाएकी छिन् । कलाकार तथा फिल्मकर्मीहरू पनि सिक्किम र नेपालबाट लिइने र सो कार्य सुरु भइसकेको बताइएको छ ।

यस क्रममा ‘पौवा’को मुख्य नायिकाको रूपमा सिक्किमकी मञ्जु क्षेत्री छानिएकी छिन् । नेपाली सिरियल मेरी बास्सैमा खड्काजीको कान्छी श्रीमतीको भूमिकामा देखिएकी मञ्जुलाई हालै ‘पर्पल बेबल’बाट फिल्मको नायिकामा छानिएको भन्दै सुखद कल आएको थियो । पाखी ए टायरेवाला नामक निर्देशकले निर्देशन गर्ने उक्त फिल्मका लागि सिक्किमकै अन्य पाँच कलाकार पनि छनोटमा परेका छन् । चौध वर्षअघि एउटा भयानक पहिरोमा परेर बाबु र दिदी गुमाएकी मञ्जुलाई उनकी आमाले दुःखका साथ हुर्काएको उनले बताउने गरेकी छिन् । सिक्किमको मणिपाल विश्वविद्यालयबाट एमबीए पूरा गरेकी मञ्जुलाई लिएर पौवाको सुटिङ छिट्टै सुरु हुनेछ, यसका लागि ‘क्वान्टिको’को काम सकेर प्रियङ्का अमेरिकाबाट फर्कनुपर्नेछ ।