पाइरेसी गर्नेले प्राण त्याग्दा दीपक तनावमा

पाइरेसी गर्नेले प्राण त्याग्दा दीपक तनावमा


deepakraj giri

सफलताको कसीमा शिखर छोएको बहुचर्चित नेपाली फिल्म ‘छक्कापन्जा’ पाइरेसी गरेको आरोप लागेका युवा कृष्ण सुवेदीले गत बिहीबार आत्महत्या गरेपछि उनीमाथि प्रहरीमा उजुरी हाल्ने कलाकार तथा निर्माता दीपकराज गिरीले तनाव व्यहोर्नुपरेको छ । ‘छक्कापन्जा’ प्रदर्शनका लागि यतिबेला युरोपमा रहेका कलाकार गिरीले युवकले आत्महत्या गर्नुको कारकका रूपमा आफूलाई दोषी ठह¥याएर मिडियाबाजी भएकोमा युरोपबाटै दुःखेसो प्रकट गरेका छन् ।
दीपकराज गिरी निर्माता तथा दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्कापन्जा’ले करोडौँ कमाइ गरिरहेको परिवेशबीच फिल्म युट्युबमा छताछुल्ल भएपछि स्वभावतः दीपक–दीपाहरू रन्थनिएका थिए । यही रन्कोमा फिल्मको पाइरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा करिब तीन साताअघि मृतक सुवेदीलगायत चार युवाविरुद्ध उजुरी परेको र उजुरी परेपछि सुवेदीलगायत श्रीजल भट्टराई, अनिस रञ्जित र सागर सापकोटालाई प्रहरीले टेकु बोलाएर सोधपुछ गरी छाडेको थियो । सम्बन्धित प्रहरी अधिकारीका अनुसार अभियुक्त युवाहरूलाई सोधपुछ गरेर चलचित्र निर्माण पक्ष र आरोपी दुवै पक्षबीच सहमति गराएर छाडिएको भए पनि प्रहरीले यो मामला सार्वजनिक गरेको थिएन । फिल्म पाइरेसी गरेकोमा आक्रोशित दीपकले केटाहरूलाई यस्तो गलत धन्दामा लागेर भविष्य बर्बाद नपार्न सुझावसहितको खप्की प्रहरीसमक्ष नै दिएका थिए । प्रहरीले पनि पाइरेसीमा सुवेदीको भूमिका दोष लगाउनैपर्ने खालको नभएको ठहर गरी छाडिदिएकोले कुरो टुङ्गिसकेको थियो । यसबीच मृतक सुवेदी आफ्नो घर नवलपरासी पुगेर आएका थिए । यस्तो अवस्थामा उनले आत्महत्या किन गरे, बेग्लै अनुसन्धानको पाटो हुन सक्छ । यदि अभियोग लागेर प्रहरी कार्यालयसम्म तानिनुपरेकै कारण आत्महत्या गरेका हुन् भने पनि यसमा दीपकराज गिरीलाई दोषी भन्दै दुष्प्रचार गरिनु उनीप्रतिको पूर्वाग्रहबाहेक केही हुन सक्दैन । मृतक युवाको कमजोर मानसिकताका लागि कलाकार गिरीलाई दोष बोकाउन खोजिनु उनीप्रति ठूलो अन्याय नै हुन जान्छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार केही महिनाअघि नै मृत्यु भएका छक्कापन्जा चलचित्रसँग सम्बन्धित एक व्यक्तिले आफ्नो साथ ‘छक्कापन्जा’को सीडी राखेका रहेछन्, उनको मृत्युपछि उनका छोराले सो सीडी साथीभाइलाई हेर्नका लागि बाँडेछन् । सोही क्रममा पाइरेसी भएको प्रहरी अनुसन्धानले दोखाएको छ । तिनै साथीभाइमार्फत सो सीडी मृतक सुवेदीसम्म पुगेको देखिएकाले अनुसन्धानका क्रममा बोलाइएको, तर उनको मुख्य भूमिका नदेखिएपछि छोडिएको प्रहरीको भनाइ छ ।

अर्काको सिर्जनात्मक सम्पत्ति चोरेर सामाजिक सञ्जालमा छरप्रस्ट पार्नु कानुनको आँखामा दण्डनीय भए पनि दीपकराज गिरीले आरोप लागेका युवाहरूमाथि सजाय दिलाउनेभन्दा पनि चेत फिराउने नियत मात्र राखेको बुझिन्छ । यस्तोमा कृष्ण सुवेदी आत्महत्याको मूल कारण दीपकराज गिरी नै हुन् भन्ने ढङ्गले प्रचार गरिनु युक्तिसङ्गत हुन सक्दैन । यही परिवेशमा सामाजिक सञ्जालमा विभिन्न टीका–टिप्पणी आएपछि फिल्मका निर्माता एवम् कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै आफूलाई मिथ्या आरोप लगाएर तनाव नदिन आग्रह गरेका हुन् । यस प्रकरणमा दीपकराजले भनेका छन्, ‘अहिले जुन प्रकारले सामाजिक सञ्जालमा केही मान्छेको एक किसिमको आक्रोश देखिएको छ, त्यो आक्रोशका बारेमा मलाई बोल्न मन लागेको छ । मृत्युको सही कारण के हो, अनुसन्धानबाट खुल्ने नै छ, यो संवेदनशील र मुस्किलको समयमा मनदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ती साबित भए सजाय भोग्न तयार छौँ । म युरोपमा छु । त्यसकारण म प्रत्यक्ष यसको जवाफ दिन सक्दिनँ, तर घटनाबारे मैले बोल्नैपर्छ । परिवारको आक्रोश स्वाभाविक छ किनभने कसैको छोरा गुमेको छ । पीडामा आक्रोश हुन्छ र आक्रोशमा को राइट को रङ भन्ने हुँदैन । जसले गुमाएको छ उनीहरूलाई पीडा हुन्छ र त्यो पीडाको बोध मलाई पनि छ । तर, अन्य मानिसको आक्रोशको विषयमा जसले यो दीपकराज गिरीले ग¥यो, छक्कापन्जाले ग¥यो भनेका छन्, त्यो सरासर गलत र यही मौकामा दीपकराजहरूलाई छाड्नुहुन्न भन्ने नियतबाटबाट आकर्षित छ । मानिसले आफ्नो सामान हराएको अथवा आफ्नो सामान अपलोड गरेको चिजको कम्प्लेन पनि गर्न नपाउने हो भने हो, म दोषी छु र सामान्य गाली गरेर छोडिदिनु अपराध हो भने हो म अपराधी हो । मैले उसलाई उसको करिअरको चिन्ता गरेर उसलाई जान दिनु मेरो अपराध हो भने त्यहाँ पनि म दोषी छु । जेल हाल्ने, केस बनाएर अदालत चलान गर्न सक्थेँ, म साइबर कानुन त्यति कडा छ । त्यो नगरीकन उसलाई सामान्य भनेर छाडिदिएको मेरो गल्ती हो भने म यसको ठूलो अपराधको भागी हो । पहिले छानबिन पूरा हुन दिऊँ, छानबिन गरेर प्रमाणित भएपछि मात्रै मलाई गाली गर्नुस् ।’