भूकम्पपीडितको नाममा उठेको पौने आठ करोड राजदूतले बुझाएनन् सरकारलाई

भूकम्पपीडितको नाममा उठेको पौने आठ करोड राजदूतले बुझाएनन् सरकारलाई


अर्जुन कार्की

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौँ रकम नेपाल सरकारलाई बुझाउन आनाकानी गरिरहेको समाचार प्राप्त भएको छ । गत सालको वैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा बसोबास गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर (साठी करोडभन्दा बढी नेपाली रुपैयाँबराबर) नगद उठेको थियो । उठेको रकममध्ये राजदूत अर्जुन कार्कीले बाउन्न लाख छत्तीस हजार अमेरिकी डलर नेपाल सरकारलाई गत वर्ष नै बुझाइसकेका छन् । तर, उठेको रकममध्ये सात लाख चौसठ्ठी हजार डलर उनले अहिलेसम्म बुझाएका छैनन् र नेपाल सरकारले त्यसको खोजी पनि गरेको छैन । अमेरिकामा रहेका कतिपय नेपालीले ‘बाँकी रकम कहिले बुझाउने’ भनी जिज्ञाशा राख्दा राजदूत कार्की स्पष्ट जवाफ नदिई तर्किने गरेका छन् । पछिल्लो समयमा त कसैले त्यसबारे जिज्ञाशा राख्दा कार्की झर्किनेसमेत गरेका छन् । उनको व्यवहार हेरेर नेपालीहरूले सात लाख चौसठ्ठी हजार अमेरिकी डलर कार्कीले हजम गर्न खोजेको ठान्न थालेका छन् । यस सम्बन्धमा सरकारले हिसाब नखोजोस् भनी कार्कीले वर्तमान सरकारको उच्च तहमा रहेका व्यक्तिहरूलाई विभिन्न प्रकारले ‘इन्फ्युएन्स’ गरेको जानकारी प्राप्त भएको छ । एक मन्त्रीका छोरालाई राम्रो विश्वविद्यालयमा अध्ययनको व्यवस्था मिलाइदिएर कार्कीले गुन लगाएको र यही कारण सरकारले आफूसँग हिसाब नखोज्ने विश्वास उनले गरेको बताइन्छ ।