किसुनजीलाई मेलम्ची तर्पण

किसुनजीलाई मेलम्ची तर्पण


Tribhuvan Chandra Wagle

– त्रिभुवनचन्द्र वाग्ले

किसुनजी,
चिम्लिएर आँखा, खोलिदिनुहोस् मुख
तपाईंलाई मेलम्ची–तर्पण दिन चाहन्छु

किसुनजी मैले पढिनँ, कर्मपुराण
‘गंगायां च जले मोक्ष वाराणस्यां जले थले
जले स्थले चान्तरिक्षे गंगासगरसंगमे’
जोक्स, बनाएर
तपार्इं र काठमाडौं
काठमाडौं र पानी
पानी र मेलम्ची
मेलम्ची र सुक्खा धारा, रित्ता गाग्री
कतिले दिन कटाए, भोटा फटाए
सुन्दै छु मेलम्ची
‘सुन्दरीजल’ आउँदै छ रे
जेलको आँगनमा
सुन्दर घाम उदाएथ्यो पञ्चायत–रात्रिमा ?

किसुनजी जेलको बात के गर्नु
सत्ताको मात बिक्री हुने
‘चन्द्रालय’ अर्थात् सिंहदरबारको हाटमा
कसले किन्छ र किसुनजीको सुक्खा पोट्रेट
जसले पानीको रसिलो सपना देख्यो
म अलिकति मेलम्ची तर्पण गरूँ हजुरलाई
चिम्लिएर आँखा, मुख खोलिदिनुहोस्
र पञ्चाक्षरी बोलिदिनुहोस्

किसुनजी थुनिएर हाम्रा मुख खोलिए
बोलिए र बोलाइयो इन्कालावका स्वर
सुन्दै छु,
पानी थुन्ने अर्को एउटा ‘सुन्दरीजल’ बनाइँदै छ रे
न थुनिए पानी कसरी हामीले घाँटी भिजाउने ?
किसुनजीको हातमा नेलकडी लाए
र त हाम्रा मुखले स्वतन्त्र लय पाए
जेल र जलको दृश्य
म कसोरी क्यान्भासमा उतारूँ
सुन्दरीजलको प्यासी फाँटमा उभिएर ।
किसुनजी जल भएर आउनुहोस्
काठमाडौ धोएर जानुहोस्
हो किसुनजी
माटो किन ? –
मन पखाल्ने मेलाम्ची भएर आउनुहोस्
आँखा चिम्लिएर, मुख खोलिदिनुहोस्
म पितृमेध कर्ममा
तपाईंलाई पहिलो समर्पण
मेलम्ची–तर्पण गर्न चाहन्छु ।

(०७३ माघ ९)