स्वस्थानी आराधनामै निधन

स्वस्थानी आराधनामै निधन


संविधानविद् तथा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र मोडर्न कन्या कलेजका प्रमुख रामप्रसाद दाहालकी आमा शकुन्तला दाहालको आफ्ना सबै सन्तानलाई वरिपरि राखेर दुई हात जोडी स्वस्थानी सुनिरहेका बेला स्वस्थानीकै कथाझैँ लाग्ने गरी निधन भएको छ । शकुन्तलाका तीन छोरा रामप्रसाद, काशीराज, केशवप्रसाद दाहाल तथा दुई छोरी इन्द्रा काफ्ले र लक्ष्मी प्याकुरेल हुनुहुन्छ ।

प्राप्त जानकारीअनुसार ८३ वर्षीय शकुन्तला केही दिनअघि अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको थियो । तर, दुई दिन बसेर उहाँले आफूलाई अस्पताल नराख्न भन्नुभयो । आमाको इच्छाअनुसार छोराछोरीले घर ल्याएपछि उहाँ स्वस्थ हुनुभयो । पुस २७ गतेदेखि स्वस्थानी कथा प्रारम्भ भयो । माघ १ गते माघेसङ्क्रान्ती मनाएर साँझ स्वस्थानी भन्नुअघि छोरा काशीराज दाहालले आमा आज स्वस्थानी कथाका लागि प्रसादी के राख्ने होला ? भनेर सोध्दा उहाँले आज पेडा राख भन्नुभएअनुसार पेडाको नैवेद्य राखियो । छोरीहरू पनि सबै आएको बेला परेकाले सबै छोराछोरी र नातिनातिनीहरू वरिपरि बसेर सदाझैँ स्वस्थानी कथा भन्न सुरु गरियो । उक्त दिन माइला छोरा काशीराजले कथा भन्नुभएको थियो । कथा सकिएपछि हेर्दा आमा दुई हात जोडेर निदाइरहनुभएको देखेर आमालाई आरामले सुताउन खोज्दा उहाँको निधन भइसकेको रहेछ । सोही दिन उहाँको स्वास्थ्य जाँच गर्दा सम्पूर्ण रूपले उहाँ स्वस्थ रहनुभएको रिपोर्ट आएको थियो । साथै उहाँ स्वयम्ले पनि आराम महसुस भएको बताउनुभएको परिवारका सदस्यहरूले बताए ।

आश्चार्यजनक संयोग त के छ भने उहाँहरूका बुबा परशुराम दाहालको पनि ०६८ सालमा माघ १ गते सोही समयमा देहान्त भएको थियो । त्यतिबेला पनि स्वस्थानी कथा तेस्रो अध्याय पढिएको थियो र आमाको देहान्त पनि स्वस्थानीको तेस्रो अध्याय सुन्दासुन्दै भएको छ । बुबा परशुराम दाहालले पहिले नै म यस दिन मर्छु सबै तयारी गर्नु भनेर परिवारलाई जानकारी दिनुभएको थियो । पुस महिनाभर बिरामी पर्नुभएका बुबाले माघ १ गते सूर्य उत्तरायणमा आएपछि मात्र आफ्नो निधन हुने भएकाले पुसभरि आफूलाई केही नहुने डाक्टरहरूलाई समेत बताउनुभएको थियो । महाभारतमा इच्छा मृत्युको बरदान पाएका भीष्म पितामहले आफूलाई शरीरभरि गोली लागेर पनि मृत्युका लागि उत्तरायण पर्खिएको उल्लेख छ ।

kashi