बब्लुको निसानामा पर्सा प्रहरी !

बब्लुको निसानामा पर्सा प्रहरी !


पर्सा प्रहरी

भारतीय अपराधी बब्लु पासवानले पर्सा प्रहरीलाई ‘वीरगञ्जमा अप्रिय घटना घटाउने’ चुनौती दिएको बताइएको छ । विभिन्न अपराधमा कैदी जीवन बिताएर २०१६ डिसेम्बर अन्तिम तारिखमा मोतीहारी जेलबाट रिहा भएका भारतीय अपराधी पासवानले पर्सा प्रहरीलाई यस्तो धम्की दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतले खुलासा गरेका हुन् । ‘तुम एक मारो तो हम दो मारुँगा, तुम मे शक्ति है तो रोक लो’ भन्दै बब्लुले धम्की दिएको र यसले वीरगञ्जमा ठूलै आपराधिक घटना हुन सक्ने सङ्केत गरेको पर्सा प्रहरीको विश्लेषण रहेको बुझिन्छ ।

सीमापारिका अपराधी बब्लु पासवानका सहयोगी भारत बिहार समस्तीपुर जोगबेहरा–५ घर भई रक्सोल बस्दै आएका दिलशाद अहमदको गत असोज २४ गते पर्सा प्रहरीको कारबाहीमा ज्यान गएको थियो । उद्योगपति सुरेश केडियाको अपहरणमा मुख्य योजनाकारसमेत रहेका अहमद मोटरसाइकल चढी हतियारसहित वीरगञ्जतर्फ आएको सूचना प्राप्त भएपछि पर्सा प्रहरीले अहमद चढेको मोटरसाइकल नियन्त्रणमा लिने प्रयास गरेको थियो । मोटरसाइकल रोक्न खोज्दा उल्टै गोली फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाउँदा अपराधी दिलशादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक राजुबाबृ श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका थिए । बब्लु पासवानले भने आफ्नो सहकर्मीलाई पर्सा प्रहरीले झुक्याएर गोली हानी हत्या गरेको आरोप लगाउँदै आएका छन् । यसैको बदला लिन पर्सा प्रहरीलाई पनि बब्लुले निशानामा राखेको स्रोतको दाबी छ ।

यस अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीलाई भारतको रक्सौलतर्फ नजान पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले निर्देशन दिएका बुझिएको छ । भारतमा समेत कुख्याति कमाएका अपराधी बब्लु पासवानले पर्सा प्रहरीलाई निशाना बनाएको पर्सा प्रहरी र प्रहरीको हैटौँडा ब्युरोलाई समेत जानकारी मिलेपछि वीरगञ्जमा चेकजाँचमा कडाइ गरिनुका साथै सुरक्षासम्बन्धी विशेष सतर्कता अपनाइएको छ ।
– अमित शाह